बाँके । बाँकेको कुडुवामा बगर खेतीले गाउँको मुहारै फेरिएको छ । बर्सेनि राप्ती नदिले घर खेत बगाउने समस्या रहेको कुडुवामा २ वर्षअघि तटबन्ध निर्माण गरिएको थियो ।
बर्सेनि आउने बाढीका कारण अधिकांश स्थानीयबासीका घरखेत बगर बनेका छन् । धान, गहुँलगायत अन्न फल्ने जमिन बगर बनेपछि दुःखी बनेका स्थानीय बगरखेतीका कारण भने जीवनशैली नै परिवर्तन हुन थालेको बताउँछन् ।
२०७१ सालमा राप्ती नदी पसेपछि बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर १ कुडुवाका दिनेश मौर्यको धान गहुँ फल्ने २५ बिगाहभन्दा बढी जग्गा बगर बन्यो ।
अहिले पनि खेतको बीचबाट नदी बगिरहेको छ । भारतको सीमामा बगिरहेको नदी हरेक वर्ष वरवर सरिरहेको छ ।
पहिला बगरमा तरकारी खेती हुन्छ भन्ने बारे गाउँका मानिसले मेसो पाएका थिएनन्, चार वर्षअघि भारतबाट आएका एकजना किसानले गाउँका मानिसलाई बगरमा पनि खेती हुन्छ भनेर सिकाए ।
उनी त अहिले भारत फर्किसके तर उनले गरेको देखेर गाउँका मानिसले सिके र बगर हरियाली भयो । गाउँको मुहार फेरियो ।
स्थानीय रिनाकुमारी मौर्य ४ वर्षअघिसम्म चुलोचौकोको काममै व्यस्त हुनुहुन्थ्यो ।
हिजोआज भने उहाँको दिन तरकारी उत्पादनमै बित्छ । १२ बिगाह जमिनमा बगरखेती गर्दै आउनुभएका उहाँले गतवर्ष २ लाख रुपैयाँ कमाउनुभयो ।
यस वर्ष पनि उहाँले बगरमा नै खेती गर्नुभएको छ । बगरको खेतीले काम र दाम दुबै पाइएको छ । उहाँका छोराछोरीसँगै श्रीमान नरेश मौर्यसमेत ठेक्कापट्टाको काम छोडेर खेतीकिसानीमै फर्कनुभएको छ ।
१० वर्षदेखि भारतको पन्जाबमा काम गर्दै आउनुभएका रिनाका भाई रामप्रताप मोर्यले पनि यहीँ रोजगारी पाउनुभएको छ ।
खेतीका लागि अरु मानिस राख्नुको साटो आफैले गर्न थालेको रामप्रतापले बताउनुभयो ।
नदीबाट बर्सेनि दुखः झेल्दै आएका गाँउलेहरूले सुखको कल्पनै गरेका थिएनन् । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनमा भारतबाट तरकारी नभित्रिएपछि तरकारीले मूल्य पायो ।
किलोको ४० पर्ने परवरको मूल्य १ सय ५० सम्म पाएको किसानहरू बताउँछन् ।
गएको २ वर्षमा बगरखेतीले नसोचेकै फाइदा भयो, गाँउलेहरुले लगानी अनुसार ८० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गरे ।
बगरखेतीको कमाइले खेती गर्न अन्य किसानलाई पनि प्रोत्साहित गरेको छ । घरखर्च, पढाइलेखाईसँगै गाँउमा पक्की घरसमेत बन्न थालेका छन् ।
बगरखेतीका कारण गाउँ नै परिवर्तन भएको छ । किसानहरूले बगरखेतीबाट भएको तरकारी बेचेरै मोटरसाइकल किनेका छन्, कोही पक्की घर बनाउदै छन् ।
गाउँको जीवनस्तर नै फेरिएको छ ।
यसवर्ष बगर खेती गर्ने समय सुरू भइसकेको छ । कुडुवामा १ सय ९ घरधुरी छन् । यहाँ करीब ८० बिगाह क्षेत्रफलमा बगरखेती हुँदै आएको छ ।
विगत ३ वर्षयता कृषि ज्ञान केन्द्र बाँकेले ‘बगरखेती प्रोत्साहन कार्यक्रम’ अन्तर्गत ४० बिघामा बगर खेती गर्नका लागि किसानलाई मल, बिउ, सिँचाई लगायत सुविधा दिँदै आएको छ ।
ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बगरखेती प्रवद्धनको लागि आफूहरूले सहयोग गरिरहेको बताउनुभयो ।
बाँके जिल्लामा नदीले कटान गरेको खेतीयोग्य जमिन करीब १ सय बिगाह हुनसक्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । राप्तीको किनारामा बैजापुर, बिनौना, कचनापुर, सिधधिया, गंगापुर र डुडुवा लगायत क्षेत्रमा बगर खेती हुँदै आएको छ ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८, ११:३५