काभ्रे । कठ्याङरिदो बिहान भनेर के गर्नु ?
काभ्रेको नमोबुद्ध ८ डराउनेपोखरीका रजिना अधिकारीलाई खाली गाग्री र जुठा भाँडा लगेर धारामा पुगिएन भने आफ्नो पालो नआउला कि भन्ने चिन्ताले सताइरहन्छ ।
त्यसैले बिहानको ३ बजे नै पानी लिन निस्कनुपर्छ । बाटोभरि हुन्छ वन्यजन्तुले आक्रमण गर्ने डर ।
‘पानी लिन जाँदाखेरी मलाई पटकपटक बाघले झम्टिएको छ । तर अहिलेसम्म बाँचिएको छ । सबेरै वा अबेरै नगए पानी नपाउने समस्या समाधान भइदिएहुन्थ्यो ।’ रजिनाले भन्नुभयो ।
नमोबुद्ध नगरपालिकाको मेथिनकोटका मीनबहादुर श्रेष्ठका अनुसार स्थानीय सरकार आएपछि गाउँमा धेरैले पानीको समस्या समाधान होला भन्ने सोचेका थिए ।
तर जनप्रतिनिधिको पाँच वर्षे पहिलो कार्यकाल सकिँनै आँट्यो, पर्याप्त पानी नपाउँदाको पीडा थपिँदै गएको छ ।
‘यिनै नेताहरूले पानी ल्याउँछु भनेको चार वर्ष पूरा भइसक्यो तर पानी पाइएको छैन।’ आँखाभरि आँसु ल्याउँदै श्रेष्ठले थप्नुभयो, ‘पानी ल्याउनका लागि भुराभुरी १ घण्टाको बाटो कुद्नुपर्छ । चार दिनसम्म पनि पानी नपाएर बस्नुपरेको छ ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार भूकम्पपछि काभ्रेको कुल जनसङ्ख्याको ४५ प्रतिशत नागरिक पिउने पानीको अभाव झेलिरहेका छन् । २०६८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या ३ लाख ८१ हजार ९ सय ३७ छ ।
नमोबुद्ध नगरपालिकामा मात्रै झन्डै सातवटा बस्तीमा खानेपानीको समस्या छ । समाधानका लागि भइरहेका काम कहाँ पुगे ? जवाफ दिँदै नगरप्रमुख टीपी शर्मा तिमल्सीनाले ‘एक घर एक धारा’ को अवधारणा ६० प्रतिशत पूरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केही वृहत आयोजना जस्तै तिमाल खानेपानी अन्तिम चरणमा पुगेको छ । हाम्रो कार्यकालभरि नै त्यो पानी ल्याउनका लागि प्रतिबद्ध छौँ । राष्ट्रिय गौरबका यस्ता केही आयोजनाले समय लिएका छन् ।’
नमोबुद्ध नगरपालिकामा मात्रै होइन, तेमाल गाँउपालकाको अधिकाश ठाउँका बासिन्दा पनि पानीको समस्यामा छन् । गाईबस्तु पाल्न, तरकारी खेती गर्न, नुहाउन, कपडा धुन त मुस्किल छ नै, पानीको अभावमा महिनावारी हुँदाको सरसफाइ भनेजसरी गर्न नसकिएको तेमाल गाउँपलिकाका ५ कालिमाटीका सुनिता सुरालीको भनाइ छ ।
‘महिनावारी हुँदा सरसफाइका लागि पानीको आवश्यक हुन्छ । तर पानी नपाउँदा समस्या भएको छ ।’ सुनिताले उल्लेख गर्नुभयो ।
काभ्रे जिल्लाको पाँचखाल र नमोबुद्ध नगरपालिका, भुम्लु अनि तेमाल गाउँपालिकामा खानीपानीको अभाव टार्न बृहत खानेपानीको काम भइरहेको छ ।
स्थानीय सरकारले गरेका कामको कतिपय स्थानमा नागरिकस्तरबाट प्रशंसा हुने गरे पनि काभ्रेका १ दर्जनभन्दा बढी गाउँहरूमा खानेपानीको समस्या अझैँ समाधान हुनसकेको छैन ।
जस अन्तर्गत सङ्घीय सशर्त आयोजना र प्रदेशस्तरीय खानेपानी आयोजना निर्माण कार्य भइरहेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर ओमहरी ताम्राकारका अनुसार तेमाल, सुनकोशी, मन्डनपुर वृहत खानेपानी लगायत खानेपानी आयोजनाको काम सङ्घबाट भइरहेको छ ।
मझौला प्रकारका खानेपानी आयोजना भने प्रदेश सरकारले सञ्चालन गरेको छ । ‘प्रदेश सरकारबाट सञ्चालित यस्ता कार्यक्रम ३२ वटा छन् । यी सबै पूरा भए भने खानेपानीको समस्या समाधान होला ।’इन्जिनियर ताम्राकारले जानकारी दिँदै भन्नुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार भूकम्पपछि काभ्रेको कुल जनसङ्ख्याको ४५ प्रतिशत नागरिक पिउने पानीको अभाव झेलिरहेका छन् । २०६८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या ३ लाख ८१ हजार ९ सय ३७ छ ।
यहाँका वस्तीमा पानीको अभाव भइरहँदा नजिकैबाट बग्ने खोलाको पानी तानेर खुवाउने भन्दै सुरु गरिएका करोडौँका आयोजनाको काम समयमै नसकिने समस्या पनि उत्तिकै छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकारका योजना धेरै बनेका छन् ।
उनीहरूले गरेका कामको कतिपय स्थानमा नागरिकस्तरबाट प्रशंसा हुने गरे पनि काभ्रेका १ दर्जनभन्दा बढी गाउँहरूमा खानेपानीको समस्या अझैँ समाधान हुनसकेको छैन ।
अडियो रिपोर्ट सुन्नुहोझस्ः
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८, ११:०३