काठमाडौँ । नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कार्यसमिति बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको छ ।
आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मतबाट चयन गरेको हो ।
अन्य पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय समितिको अर्को बैठक एक सातापछि बस्ने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
पार्टी नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनमा प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो । निर्विरोध अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वका लागि आफूलाई अन्तिम अवसर प्राप्त भएको बताउनुभयो ।
‘मलाई यो पार्टी, केन्द्रीय समिति र श्रमजीवीजनताले मलाई इतिहासका गम्भीर मोडहरुमा गम्भीर भूमिका खेल्ने अवसर दिएको छ ।’, प्रचण्डले भन्नुभयो ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८, १८:०७