काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ताधारी नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएका छन् ।
एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ ।
प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर र गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार बनाएको हो ।
एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी र सुदूरपश्चिम प्रदेशमा खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु रहनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको अन्तिम नाम टुङ्गो लगाएको हो ।
सत्तारुढ दल नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले काँग्रेसले सातमध्ये छ वटा प्रदेशमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा शाह) लाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
माघ १२ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८, १९:००