काठमाडौँ । इलामको माङसेबुङमा रहेको किरात समुदायको धार्मिकस्थल लारुम्बा गाउँ पुग्नेहरू गाउँको अनुशासनबाट प्रभावित भएर फर्कन्छन् ।
घरैपिच्छे सेता र राता रङ्गका ध्वजा, साथमा सूर्य अङ्कित झण्डा । प्रायः सबै घरमा यस्तै ध्वजा फहराउनु लारुम्वाको पहिचान हो । यी ध्वजालाई उनीहरूले भगवान् शिव, पार्वती र गणेशको प्रतीकको रूपमा लिन्छन् ।
१५ सय घरपरिवारको बसोबास रहेको यो गाउँमा लगभग ७ हजार जनसङ्ख्या छ । गाउँमा मदिरा, पशु बली, कुनै पनि किसिमको हिंसा निषेधत गरिएको छ ।
किराँत समुदायको यो धार्मिकस्थलमा जाँड, रक्सी, चुरोट, खैनी, सुर्ति, मासु खान पाइँदैन ।
यही विशेषताका कारण लारुम्बा विश्वभर चर्चित छ ।
आफ्नो धार्मिकस्थलप्रतिको आस्थामाथि सम्मान गर्दै खानपानको आचारसंहिता नै बनाइएको र यसलाई आजसम्म सबैले स्वीकार गरेको माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङ्हाङ बताउनुहुन्छ ।
‘आचारसंहितामा सबभन्दा पहिला हामीले सार्वजनिक रुपमा जाँडरक्सी सेवन, जुवातासमा प्रतिबन्ध लगाएका थियौँ । यसलाई गैरकिराँत समुदायिका नागरिकले पनि मन पराउनुभएको छ ।’ अध्यक्ष योङहाङले भन्नुभयो ।
शान्ति र सद्भाव कायम राख्न आचारसंहिता लागू गरेसँगै लारुम्बामा सबैले पालना गरेका छन् ।
यहाँका हरेक होटलमा शाकाहारी खाना मात्र पाइन्छ भने जाँड रक्सी पाइँदैन । एक जना होटल सञ्चालिका गीता लिम्बूका अनुसार गुरु, गुरुआमा बस्ने ठाउँ भएका कारण पनि रिङरोडभित्र मासुमंस खुवाउन प्रतिबन्ध लगाइएको हो ।
होटल व्यवसायीहरूले पनि अन्यथा नलिएको उहाँको भनाइ छ ।
माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ र ५ मा पर्ने यो क्षेत्रमा राई, लिम्बू, मगर गुरुङ, ब्रह्मण, क्षेत्री लगायतको बसोबास रहेको छ । यहाँ अन्य जिल्लाबाट आएर बसोबास गर्ने नागरिक पनि उल्लेख्य छन् ।
पाँचथरबाट बसाई सरी आउनुभएका योगकुमार आङदाम्बेले शान्ति र सुरक्षा मिल्छ कि भनेर लारुम्बा बसाइ सरेर आएको बताउनुभयो । पछिल्लो समय लारुम्बा किराँत समुदायको धार्मिक ग्रन्थ मुन्धुम अध्ययनस्थलको रूपमा समेत विकास हुँदैछ ।
हाँ जुनसुकै जातजाति र उमेर समूहकाले पनि ज्योतिष, मुन्धुम, कर्मकाण्ड लगायत विषय अध्ययन गर्न पाउने किरात मुन्धुमशालाका एक जना शिक्षक ललित चन्द्र फियाकले बताउनुभयो ।
किराँत धर्म, दर्शन शास्त्र र किराँत, ज्योतिष अनि ज्योतिषशास्त्र यहाँ पढाउने गरिएको छ ।
इभाङबाट गुरु आत्मानन्द लिङदेन यहाँ आएर बसेपछि लारुम्बा धार्मिकस्थलको रूपमा विकास भएको पाइन्छ ।
यो गाउँ विकासका दृष्टिले भने विकट मानिन्छ । गाउँमा सडक, खानेपानी, विजुली लगायत पूर्वाधारको भने अभाव रहेको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, १०:१३