धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ तुँखाको याखा गाउँमा सुख्खा पहिरो खसिरहँदा गाउँ नै चिराचिरा परेको छ ।
सुख्खा पहिरोले जमिन चर्किएपछि गाउँलेहरू निन्द्रामा नै झसङ्ग भएर उठ्ने गरेको बताउँछन् । उनीहरूले सुरक्षित बासस्थान मिलाई दिन सरकारसग आग्रह पनि गरेका छन् ।
मोरङ्ग र धनकुटाको सीमानामा रहेको भेडेटार राजारानी-चुरे खण्डको डाँडाबजारबाट २ किलोमिटर दक्षिण पूर्वमा रहेको धनकुटाको याखा गाउँको जमिन गएको असोज ६ गतेको वर्षापछि सामान्य चर्किएको थियो ।
त्यसअघि २०७४ सालबाट हिउँदको समयमा अचानक ठाउँठाउँमा सेतो लेदोसहितको पानी निस्कने गरेको स्थानीयबासीको भनाइ छ ।
असोजमा परेको मुसलधारे पानीले जमिन चर्कँदा स्थानीयबासीले त्यसलाई सामान्य रूपमा लिए ।
तर केही दिनयता भने अचानक ठूलो आवाजसहित जताततै जमिन चिरा पर्न थालेपछि तुँखा गाउँबासी त्रासमा छन् । यो गाउँमा अहिले १ फुटदेखि १ मिटर गहिरा सयौँ जमिन फाटेका धर्सा देखिन थालेका छन् ।
घरका आँगन चिराचिरा परेर फाट्न थालेका छन् ।
पोलमा टाँगिएका बिजुलीका तार झुल्न थालेका छन् । बाटो तथा बारिका डिलहरू भासिएर त्यहाँ लगाएका सुन्तला, अलैँची बारीहरू तलतिर सर्न थालेका छन् ।
जमिनमा यस्तो अवस्था देखिन थालेपछि नागरिकले खेतबारी छोडेर हिड्न थालेका छन् । खेतीपातिका लागि जोत्दै गरेका खेतबारिहरु आधा काम गरेर मान्छेहरूले त्यसै छाडेका छन् ।
हिउँदको समयमा अचानक मूल फुटेर नजिकै बग्ने खोल्सामा सफा पानीको ठाउँमा समेत लेदो सहितको सेतो धमिलो पानी बग्न थालेको छ ।
सुख्खा पहिरोका कारण तुँखा गाउँका ७० भन्दा बढी घरपरिवार त्रासमा बाँचिरहेका छन् । उनीहरू सरकारसँग सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका छन् ।
२०७४ सालबाट हिउँदका समयमा पटक-पटक गाउँमा हरेक वर्ष धमिलो सेतो पानीको मुहान निस्किएर सामान्य जमिन फाटे पनि यो पटक भने बस्ने अवस्था नभएको स्थानीयहरू बताउँछन् ।
यसको कारणबारे गाउँमा अहिलेसम्म कुनै विज्ञबाट अध्ययन भएको छैन । बस्तीमा देखिएको समस्याको कारण र समाधानको बारेमा अध्ययन नहुँदा नागरिक जोखिम मोलेरै बस्नु कि ठाउँ छोडेर जानु अलमलमा परेका छन् ।
पहिरोका कारण तुँखा गाउँका १ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन पहिरोको चपेटामा रहेको वडा अध्यक्ष पलकबहादुर बस्नेत बताउनुभयो ।
पहिरोको जोखिममा रहेकाहरूको लगत सङ्कलन गर्ने काम वडाले गरिरहेको उहाँले बताउनुभयो ।
बस्तीको बारेमा दीगो समाधान खोजिदिन उनीहरूले सरकारसग माग गरेका छन् ।
प्रदेश एकका सामाजिक विकासमन्त्री जयराम यादवले भने तुँखा गाउँको समस्याबारे बुझेर पहिरो रोकथामका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्री यादवले सीआईएनसँग कुराकानी गर्दै ७० परिवारको सुरक्षा गर्नु सरकारको दायीत्व भएकाले जिल्लास्थित सरोरकारवालासँग तत्काल समन्वय गर्ने बताउनुभयो ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, ११:२६