काठमाडौँ । ७ सय ५३ मध्ये देशभरका ५ सय ९० स्थानीय तहले मात्रै बैँकिङ्ग प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार हाल २२ लाखभन्दा बढी नागरिकले बैँकमार्फत सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।
सामाजिक सुरक्षा ऐन् २०७५ ले गरेको व्यवस्था अनुसार अहिले स्थानीय तहले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैँकिङ्ग प्रणालीमार्फत दिन थालेका हुन् ।
बाँकी १ सय ६३ स्थानीय तहले भने अझैँ बैँकमार्फत भत्ता भुक्तानी गरेका छैनन् ।
बैँकिङ्ग प्रणालीमा गएपछि कतिपय नागरिकले सेवा पाउँन अप्ठ्यारो भएको गुनासो आएपछि विभागले सहजिकरण गरिरहेको विभाग अन्तर्गतको व्यवस्थापन सूचना प्रणालीका प्रमुख निर्मल शर्माले सीआईएनलाई जानकारी दिनुभयो ।
'विभागले बैँकहरुलाई वित्तीय साक्षरताका कार्यक्रम, लाभग्राहीको खाता खोल्नका लागि बैँकमा उपस्थित हुन नपर्ने व्यवस्था, सबै नागरिकको खातामा एकैचौटी रकम जाने व्यवस्था गरिएको छ ।' शर्माले भन्नुभयो, 'कतिपय स्थानीय सरकारले बैँकमार्फत भुक्तानीका लागि प्रक्रिया सुरु गरिसकेका छन् ।
हाल देशभरका ३३ लाख ५६ हजार ६३ जनाले ६ प्रकारका सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।
सरकारले २०७७ मङ्सिर १ गतेदेखि लागु हुने गरी सबै स्थानीय तहलाई बैँकिङ्ग प्रणालीमार्फत भत्ता वितरण गर्न निर्देशन दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८, १४:०८