काठमाडौँ । काठमाडौँ । सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको प्रवेशद्धारमा कालो अक्षरमा माग लेखिएका ब्यानर टाँगिएका छन् ।
भुइमा सेतो कोट लगाएका विद्यार्थी ५ दिनदेखि धर्नामा छन् । काठमाडौँ पेप्सीकोलाका प्रविण न्यौपाने त्यहीँ भेटिनुभयो ।
आफ्नो बुवाको पनि डाक्टर बन्ने सपना रहेको तर पूरा नभएको भन्दै उहाँले आफूले बुवाको सपना पूरा गर्न चिकित्सा शिक्षा पढ्न चाहेको सुनाउनुभयो ।
कलेजले साढे ५ वर्ष छात्रावास अनिवार्य गरेर एउटा कोठामा एक्लै बस्नेलाई २४ हजार शुल्क र त्यसमा पनि वार्षिक ५ प्रतिशत वृद्धि हुने व्यवस्थापनले भनेको छ । यसमा ९० जना विद्यार्थीको असन्तुष्टि छ ।
विराटनगरको नोबेल मेडिकल कलेजमा पनि विद्यार्थीहरू आन्दोलनमा छन् । एक हप्तादेखि विद्यार्थी धर्नामा छन् ।
आन्दोलनरत चिकित्सा क्षिक्षाका विद्यार्थीको मागका बारे बुझ्न हिजो बिहानै शिक्षा मन्त्री देवेन्द्र पौडेल भक्तपुरको दुवाकोटस्थित केएमसी कलेज पुग्नुभयो ।
तर कलेजको प्रिन्सपल डा रतिन्द्रनाथ श्रेष्ठले आफूहरूले बढी शुल्क नलिएको भन्दै मन्त्री पौडेलसँग चर्काचर्की गर्न थाल्नुभयो ।
अतिरिक्त शुल्क नलिएको कलेजको जवाफ र त्यसो भए किन विद्यार्थी आन्दोलनमा छन त ? भन्ने शिक्षा मन्त्री पौडेलको प्रश्न करिब २० मिनेट चल्यो । त्यसपछि विद्यार्थी, प्रशासन र सरोकारवालाबीच आज बिहान वार्ता गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि शिक्षण शुल्क वापत जम्मा ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ ।
शिक्षण शुल्कभित्र विश्वविद्यालय सम्बन्धन शुल्क, सामाजिक तालिम शुल्क, इन्टनसीप शुल्क, प्रयोगशाला परीक्षण शुल्क, भर्ना शुल्क, परीक्षा तथा अतिरिक्त क्रियाकलाप शुल्कसमेत समावेश हुन्छ ।
तर कलेज प्रशासनले जबरजस्ती २० लाख बढी शुल्क मागेको विद्यार्थी बताउँछन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै धेरै शुल्क लिइएको भन्दै विद्यार्थीहरू अहिले आन्दोलनमा छन् ।
करिब १ महिनादेखि उनीहरूको विभिन्न स्वरुपको आन्दोलन चलिरहेको छ । नियामक निकाय आफूहरूको समस्यामा गम्भीर नबनेको आरोप विद्यार्थीले लगाउँदै आएका छन् ।
यससम्बन्धी रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८, ०७:३४