काठमाडौँ । ६१ जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशन आज हुँदैछ ।
पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको भर्चुअल माध्यमबाट केही बेरमा उद्घाटन गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सीआइएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ जिल्लामा भने कतै मौसममा आएको खराबी त कतै तयारी नपुगेका कारण अधिवेशन केही दिन पर सारिएको छ ।
आज अधिवेशन नहुने जिल्लाको लागि अर्को मिति तोकिनेछ ।
जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश सङ्गठन कमिटीको अधिवेशनको तयारी थाल्ने उहाँको भनाइ छ ।
प्रदेश अधिवेशन माघ ८ गतेका लागि निर्धारण गरिएको छ । गत मङ्सिरमा दसौँ महाधिवेशन गरेको एमालेले जिल्ला र प्रदेश अधिवेशन गर्न लागेको हो ।
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८, १०:५८