काठमाडौँ । नेपालले अफगानिस्तानका नागरिकलाई प्रदान गरेको सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थथान गरेको छ ।
एउटा विमानभरी मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली आज बिहान साढे १० बजे अफगानिस्तानको राजधानी काबुल गएको हो ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुलाई विमानस्थलमा हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि उहाँले बताउनुभयो । खाद्यान्नबाहेकका सहायता सामग्री करिब १४ टन रहेको जनाइएको छ ।
औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली गएको सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सीआईएनसँग बताउनुभयो ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही सङ्गठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री लिएर काबुल प्रस्थान गरेको हो ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८, १०:१०