काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २५ भन्दा धेरै सांसदमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जानकारी गराएका वा विभिन्न माध्यमबाट थाहा भएका आधारमा यो तथ्याङ्ख्या सङ्घीय संसद सचिवालयले तयार पारेको हो ।
सङ्क्रमित भएर आराम गरिरहेका सांसदको सङ्ख्या धेरै हुनसक्ने अनुमान सचिवालयको छ । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सचिवालयमा कार्यरत ७ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।
केही सांसद, सचिवालयका कर्मचारीमा कोरोना देखिएका कारण आज दिउँसो १ बजे तय भएको प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ ।
संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचनामार्फत कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण बैठक सारिएको जानकारी गराउनुभएको छ ।
अर्को बैठक फेरि सारिएन भने यही माघ १६ गते बस्नेछ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८, १२:२८