जनकपुर । प्रदेश सरकार आएको ४ वर्षपछि प्रदेश २ ले राजधानी 'जकपुरधाम' र नाम 'मधेस' पाएको छ । आज बसेको प्रदेशसभाको बैठकले दुई तिहाइ मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम गरेको हो ।
प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए ।
जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए ।
प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा भने ८० मत प्राप्त भएपछि मधेश प्रदेश नाम बहुमतबाट पारित भएको हो ।
बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो ।
प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम र त्यसको सिमाना पुर्वमा पुर्व–पश्चिम महेन्द्र राजमार्गदेखि कमला नदी किनार, दक्षिणमा नेपालको भारत सम्मको सिमाना, पश्चिममा परिक्रमा सडक र उतरमा धनुषाको ढल्केबर रहने गरी प्रस्ताव गर्नुभएको थियो ।
प्रदेशले राजधानी र नाम पाएको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय पनि भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८, २०:०७