वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले स्थानीय सञ्चारमाध्यमको प्रवर्धन र नियमन गर्ने गरी आम सञ्चार ऐन २०७८ जारी गरेको छ ।
ऐन् कार्यान्वयनका सन्दर्भमा आज वीरगञ्मा भएको सरोकारवालाबीचको छलफलमा महानगरपालिकाले ल्याएको आमसञ्चार ऐन सञ्चारमैत्री भएको सहभागी सञ्चारकर्मी र पत्रकार महासङ्घका अगुवाहरुले बताए ।
आमसञ्चार ऐन् २०७८ अनुसार वीरगञ्ज महानगरपालिकाले लोककल्याणकारी विज्ञापनलाई स्थानीय सञ्चारमाध्यममा समानुपातिक रुपमा वितरण गर्ने छ ।
श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र सञ्चारमाध्यमको संस्थागत विकासमा ठोस योगदान दिनेगरी सञ्चार माध्यमको प्रवर्धन तथा विकास कोषको स्थापना गर्ने, पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आएका ६० वर्ष माथिका जेष्ठ पत्रकारको लागि पेन्सन कोषको स्थापना गर्ने पनि ऐन्मा उल्लेख भएको महानगरका सल्लाहकार गोबिन्द देवकोटाले जानकारी दिनुभयो ।
विपत्तिबाट अप्ठ्यारोमा परेका सञ्चारमाध्यमलाई क्षति भएको सामान खरिदका लागि निश्चित अवधिका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्त राहत कोष स्थापना गर्ने, पत्रकारको लेखन वृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुई जना (महिला र पुरुष) पत्रकारलाई हरेक वर्ष छात्रावृत्ति दिने पनि आम सञ्चार ऐन २०७८मा समावेश छ ।
गत वर्षदेखि स्थानीय सञ्चरमाध्यमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरी सञ्चारमैत्री स्थानीय तहको रुपमा काम गरेको भन्दै सल्लाहकार देवकोटाले भन्नुभयो, 'वीरगञ्ज महानगरपालिकाले नेपालमै पहिलो पटक आम सञ्चार ऐन जारी गरेर स्थानीय सञ्चारमाध्यमलाई सुविधा दिन सफल भएको छ ।'
आम सञ्चार ऐनको पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८, २०:३८