काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएसका विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाहीमा ढिलो नगर्न गृहमन्त्री बालकृष्ण खाँणसँग अनुरोध गर्नुभएको छ ।
हिजो साँझ आन्दोलनरत विद्यार्थी र सङ्गठनहरूसँग छलफल गरिरहेको बेला मन्त्रालयबाटै पौडेलले गृेहमन्त्री खाँणलाई टेलिफोन गरी राज्य निरिह हुन नहुने बताउनुभएको हो ।
सीआईएनसँग कुराकानी गर्दै मन्त्री पौडेलले कलेजको चावी सरकारलाई बुझाउने धम्की दिएर निजी मेडिकल कलेजहरू गैरजिम्मेवार हुन नपाउने बताउनुभयो ।
२०७५ मा बनेको चिकित्सा शिक्षा ऐन्ले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिइएको बताउँदै विद्यार्थीले दिएका प्रमाण गृहमन्त्रालयमा पठाइसकेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।
गत पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन् २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निणर्य गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८, ०९:०९