सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष दोस्रो पटक भएको हिमपताले जनजीवन कष्टकर बनेको छ ।
करिब एक महिनाअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात हुँदा चिसोले जनजिवन कष्टकर बनेको स्थानीयले बताएका छन् । जिल्लाको तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएको छ ।
जसका कारण चिसो अत्यधिक महसुस गरिएको सर्वसाधरणले बताएका छन् ।
खुम्बुको नाम्चे क्षेत्रमा करिब ४ इन्च जति हिउँ जमेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।
हिमपातपछि तापक्रम घटेर नाम्चेमा माइनस ७ डिग्रीसम्म पुगेको उहाँले बताउनुभयो ।
चिसो बढेपछि सो क्षेत्रका स्थानीयवासी र कर्मचारीहरू आगो तापेर बस्न थालेका छन् ।
खुम्बुका धेरै जसो स्थानीयवासी यसअघि नै चिसो छल्न अन्यत्र गइसकेका छन् भने खुम्बुमै रहेका स्थानीय तथा कर्मचारीहरूको दैनिकी कष्टकर बनेको निकुञ्ज प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुम्बुमा अहिले पनि सामान्य हिमपात भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८, ०९:३८