काठमाडौँ । रोजगारी दिने भन्दै भिजिट भिसामार्फत दुबईलगायत अन्य खाडी मुलुकमा अलपत्र नागरिकको बारेमा अध्ययन तथा उद्धारका लागि सरकारले ‘मार्सल टिम’ नामक तत्काल निणर्य कार्यान्वयन गर्ने सरकारी संयन्त्र बनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको समस्या तत्कालै समाधान गर्ने गरी मार्सल टिम बनाइएको सीआईएनसँग बताउनुभयो ।
अलपत्र परेका नेपालीको उद्धारका लागि आफू पनि केही दिनभित्रमा सम्बन्धित मुलुकमा जाने उहाँको भनाइ छ ।
मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने लगायत नेपाल प्रहरीका प्रतिनिधिहरू पनि छन् ।
सरकारले पर्यटन भिसामा विदेश पुर्याएर अलपत्र पार्नेहरुलाई कारबाहीका लागि यसअघि पनि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको सयोजकत्वमा पनि समिति गठन गरेको थियो ।
मार्सल टिमले समिति मातहतमै रहेर काम गर्ने पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:१३