काठमाडौँ । आज माघ १६ अर्थात, सहिद दिवस ।
राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण मृत्युदण्ड दिईएका ४ सहिदको सम्झनामा दिवस मनाउने गरिएको छ ।
देशको व्यवस्था फेरिदै जाँदा सहिदको सूची पनि लम्बिदै गएको छ । प्रजातन्त्र प्राप्तीका लागि सहिद बनेका परिवारका सदस्य भने सहिदको उचित सम्मान र सम्झना नभएको गुनासो गर्छन् ।
सहिद धर्मभक्त माथेमाका नाती विनयकुमार माथेमाले जथाभावी सहिद घोषणाले वास्तविक सहिदको अपमान भएको बताउनुहुन्छ ।
प्रजातन्त्रको स्थापना र राणा शासन अन्त्यका लागि आवाज उठाएका धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, र शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिए ।
प्रजातन्त्र प्राप्ती पछिको सरकारले उनीहरूलाइ सहिद घोषणा गर्यो ।
अहिले, देशको व्यवस्था बदल्न , बलिदानी दिएकाहरूकै अपमान हुने गरी सहिद घोषणा गर्ने गरिएको सहिद परिवारका सदस्यको गुनासो छ ।
सहिद दशरथ चन्दका नाती विनोदबहादुरले सडक दुर्घटनामा मृत्यु भएकालाई पनि सहिद घोषणा गर्ने, कसैले हत्या गरिदियो भने त्यसलाई पनि सहिद घोषणा गर्ने परिपाटी बस्दै गएकोमा दुख लागेको सुनाउनुभयो ।
पछिल्लो समय घोषणा गरिएका सहिद सरकारको तथ्याङ्कमा छैनन्, तथ्याङ्कमा भएका सहिदलाई पनि राज्यबाट उचित सम्मान र सम्झना नभएको गुनासो परिवारका सदस्यको छ ।
यसले वास्तविक सहिदको बलिदानीको अपमान हुने गरेको उहाँको भनाइ छ ।
लखन थापा नेपालको पहिलो सहिद भए पनि जहानिया राणा शासन अन्त्यमा भूमिका खेलेका यी ४ सहिदलाई उच्च सम्मानका साथ हेरिन्छ ।
समयक्रममा भएका राजनितिक आन्दोलनमा पनि सहिदको सङ्ख्या थपिदै गयो ।
सहिदको सङ्ख्या थपिदै गए पनि राज्यबाट हुने सहिदहरूप्रतिको उचित सम्मान र सम्झना घट्दै गएको सहिद परिवारको गुनासो छ । सहिदहरूको बलिदानीकै कारण नेपाल प्रजातन्त्रदेखि गणतान्त्रिक पद्धति सम्म आइपुगेको छ ।
सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका विनोदबहादुर चन्द राजनीतिक दल स्वार्थी हुँदा देशमा नागरिकले सोँचे जस्तो परिवर्तन हुन नसकेको बताउनुहुन्छ ।
राजनीति गर्ने शैली फेरिदै जाँदा राजनीतिक दल र नेता पनि बदलिँदै गएका छन् ।
जसका कारण सहिदको योगदान र त्यसबाट प्राप्त उपलब्धि जोगाउँदै उनीहरूलाई सम्मान गर्ने क्रम पनि घट्दै गएको पूूर्व गृहसचिव उमेश मैनालीको बुझाइ छ ।
विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनको शिलशिलामा मारिएका धेरैलाई सरकारले सहिद घोषणा गरे पनि देशमा कति जनालाई सहिद घोषणा गरियो भन्ने एकिन तथ्याङ्क सरकारसँग नै छैन ।
पछिल्लो समय घोषणा गरिएका सहिद सरकारको तथ्याङ्कमा छैनन्, तथ्याङ्कमा भएका सहिदलाई पनि राज्यबाट उचित सम्मान र सम्झना नभएको गुनासो परिवारका सदस्यको छ ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८, १०:५७