काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्ने बारेमा सरकारमा रहेका राजनीतिक दलहरू विभाजित भएका छन् ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने पक्षमा देखिनुभएको छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलहरू तत्काल संसदबाट पारित गर्ननहुने पक्षमा देखिएका छन् ।
सत्ताधारी दलले एमसीसी परियोजनाको बारेमा अध्यन गर्न गठित कार्यदलमा पनि फरकफरक मत देखिएको छ ।
कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी परियोजना पारित गर्ने बारेमा कुनै सहमति नभएको बताउनुभएको छ ।
कार्यदलका अर्का सदस्य तथा काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना पारित गर्ने बारेमा सत्ताधारी दलमा सहमति भएको दावी गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री देउवालले एमसीसी पारित गराउन साथ नदिएको खण्डमा गठबन्धन लामो समयसम्म नरहने सङ्केत गरेपछि गठबन्धनमा तिक्तता उत्पन्न हुने विश्लेषण हुन थालेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरूले भने गठबन्धन टिकाउनको लागि एमसीसी परियोजना पारित गर्न नसकिने बताउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८, ०९:३५