काठमाडौं । विश्वका शक्तिशाली र अरु मुलुकको ध्यान यतिबेला रुस र युक्रेनको विवादतर्फ छ । शक्ति राष्ट्र मध्येको एक रुसले युरोपेली मुलुक युक्रेनलाई आक्रमणको चेतावनी दिएको छ । अमेरिका, बेलायत लगायतका मुलुक भने युक्रेनको पक्षमा छन् ।
युक्रेन र रुसबीचको विवाद अहिले चर्चामा आएको वा सुरु भएको होइन, आजभन्दा ९ वर्ष अघि नै यी दुई देशबीच विवाद सुरु भएको हो । कुनै बेला शोभियत सङ्घको सदस्य रहेको युक्रेनले रुस समर्थित राष्ट्रपतिलाई पदबाट हटाएपछि दुई देशबीच विवाद सुरु भएको मानिन्छ ।
सन् २०१३ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टर यानुकोभिचलाई रुसको समर्थन थियो भने अमेरिका, बेलायत विरोधमा थियो । सन् २०१४ मा राष्ट्रपति यानुकोभिच विरोधको सामना गर्न नसकेर देश छोडेर भाग्नुपर्यो ।
आफू समर्थित राष्ट्रपतिले देश छाडेपछि रुसले युक्रेनको दक्षिणी भाग क्रिमियामाथि कब्जा ग¥यो र फरक मत राख्नेको पक्षमा उभियो ।जानकारहरू त्यहि बेलादेखि रुस र युक्रेनबीच विवाद सुरू भएको ठान्छन् ।
आफू समर्थित राष्ट्रपतिले देश छाडेपछि रुसले युक्रेनको दक्षिणी भाग क्रिमियामाथि कब्जा गर्यो र फरक मत राख्नेको पक्षमा उभियो ।जानकारहरू त्यहि बेलादेखि रुस र युक्रेनबीच विवाद सुरू भएको ठान्छन् । सन् २०१५ मा फ्रान्स र जर्मनीले बेलारुसको राजधानी मिन्स्कमा रुस–युक्रेनबीच शान्ति सम्झौता गराउँदै सङ्घर्ष विरामको सहमति बन्यो । तर, रुसले सम्झौताको उल्लङ्घन गर्दै आएको युरोपको आरोप छ ।
१९४९ मा शोभियत सङ्घसँग प्रतिस्पर्धा गर्न गठित नेटो सेना (जहाँ अमेरिका, बेलायतसहित विश्वका ३० मुलुक आवद्ध छन् ) रुसले यसको बिरोध गर्ने गरेको छ । युक्रेन नेटोको सदस्य नभए पनि उसको समर्थन छ, जुन रुसलाई चित्त बुझेको छैन । रुसविरुद्धको गतिविधि गर्ने हो भने युक्रेनले नराम्रो नतिजा भोग्नुपर्ने रुसको चेतावनी छ ।
वाक युद्धमा सिमित युक्रेन–रुसको विवाद गत वर्षको अप्रिलबाट चर्किएको हो । रुसले युक्रेनी सीमामा युद्ध अभ्यास सुरु गर्दै हाल १ लाखभन्दा बढी सेना खटाएको छ । रुस र युक्रेनबीचको विवादका कारण अमेरिका र बेलायत पनि तरङ्गित भएका छन् ।
आखिर किन पश्चिमा मुलुक रुस र युक्रेनबीचको विवादका कारण चिन्तित छन् ?
रुस र युक्रेनबीच देखिएको तनाव बढेर युद्धको रुपमा परिणत भयो भने त्यसको असर समग्र युरोपमा फैलिने र दोस्रो विश्व युद्ध पछि उत्पन्न सबैभन्दा खराब अवस्था आउन सक्ने भएकाले पश्चिमा मुलुक चिन्तित बनेका छन् । पश्चिमा मुलुकका गोप्य संस्थाहरूका अनुसार युक्रेनको सीमामा रुसले गोली बारुद, सेनाका ट्याङ्क र एक लाख सेना तैनात गरिसकेको छ । अमेरिकाले भने रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएको छ ।
रुस र युक्रेनबीच देखिएको तनाव बढेर युद्धको रुपमा परिणत भयो भने त्यसको असर समग्र युरोपमा फैलिने र दोस्रो विश्व युद्ध पछि उत्पन्न सबैभन्दा खराब अवस्था आउन सक्ने भएकाले पश्चिमा मुलुक चिन्तित बनेका छन् ।
अमेरिका र नेटो सहयोगीले एक महिना अघि नै रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए भने रुसले आक्रमण गरेमा उसले आर्थिक सङ्कटको सामना गर्नुपर्ने पनि चेतावनी दिइएको थियो । त्यति मात्रै नभई चीनको समर्थन रहेको भन्दै पनि शक्ति प्रदर्शनका लागि युक्रेनमाथि आक्रमणको तयारीमा रुस रहेको अमेरिका सहित अन्य पश्चिमा मुुलुकको ठम्याइँ छ । अर्को भनेको युक्रेनलाई नेटो सेनामा स्थान नपाओस भनेर पनि रुस आक्रमणको तयारीमा रहेको देखिन्छ ।
वर्तमान अवस्था के छ ?
युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिका र नेटो सेनाले सहयोग गर्ने घोषणा गरिसकेको छ भने नेटो सेनाले २ हजार टन युद्ध सामग्री युक्रेन पठाइसकेको छ । बेलायतले पनि युक्रेनलाई युद्ध सामग्रीमा सहयोग गर्ने घोषणा गरिसकेको छ । यता, रुसले भने अमेरिका र नेटो सहयोगी मुलुकलाई युक्रेनलाई सहयोग गरेको भन्दै आलोचना गर्दै आएको छ भने आफ्नो देशको नीति युद्ध नरहेको बारम्बार बताउँदै आएको छ ।
युक्रेनको सैनिकलाई बलपूर्वक विद्रोहिको क्षेत्रमा दोहोर्याएर कब्जा गर्नका लागि अमेरिका र नेटो सेनाले प्रेरित गरिरहेको रुसको आरोप छ ।सन् २०२२ को सुरुवाति दिनमै रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा कब्जाका लागि सैन्य प्रयास गर्नु युक्रेनका लागि गम्भीर परिणाम हुन सक्ने चेतावनी दिनुभएको थियो ।
रुस र युक्रेनबीच लडाइँ भयो भने समग्रमा त्यसको असर सबै मुलुकलाई पर्ने जानकारहरू बताउँछन् । परराष्ट्र मामिलाका जानकार लोकराज बरालका अनुसार रुसले आफ्नो शक्ति प्रदर्शनका लागि युक्रेनमाथि आक्रमणको योजना बनाएको हुन सक्छ । कारण, रुस आफैमा शक्तिशाली मुलुक हो । त्यसमाथि चीनले पनि उसलाई समर्थन गरिरहेको छ । किनकी चीनसँग अमेरिका, बेलायत लगायत पश्चिमा मुलुकको सम्बन्ध राम्रो छैन ।
रुसले यदि युक्रेनमाथि आक्रमण गर्यो भने त्यसको प्रभाव साना मुलुकलाई पर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘युक्रेनको समर्थनमा ठूला शक्ति राष्ट्र लागेका छन् , उनीहरूले युक्रेनलाई युद्धमा सहयोग गर्दा ठूलो आर्थिक भार पर्न सक्छ । जसले गर्दा साना मुलुकलाई प्राप्त हुने सहयोग र अनुदानमा प्रभाव पर्न जान्छ । जुन पक्कै पनि राम्रो होइन ।’
परराष्ट्र मामिलाका जानकार लोकराज बरालका अनुसार रुसले आफ्नो शक्ति प्रदर्शनका लागि युक्रेनमाथि आक्रमणको योजना बनाएको हुन सक्छ ।
रुसले युक्रेनमाथि आक्रमण गरे भयावह परिणाम भोग्नुपर्ने चेतावनी अमेरिका अनि बेलायतले दिँदै आएका छन् । नेटो सेनाले पूर्वी युरोपको सीमा क्षेत्रमा सेना र युद्ध सामग्री पठाइरहँदा सम्पन्न मुुलुक पक्षविपक्षमा उभिने प्रतिस्पर्धा चल्नुका साथै गरिब मुलुकमा अभाव र महङ्गी बढ्ने विश्लेषण भइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८, १७:२५