काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ ।
गत बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने भएको छ ।
मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद राजु प्रधानाङ्गले सीआईएनसँग कुराकानी गर्दै आइतवारदेखि मौसम खुल्दै जाने बताउनुभयो ।
हिजो साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको प्रधानाङ्गले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा हिजो साँझदेखि आज बिहानसम्म पनि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङ/असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८, ०७:४३