काठमाडौँ । गएको साउन महिनामा मेलम्ची खोलामा आएको बाढीका कारण बगाएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका ७ स्थित रातो पुलको स्थानमा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिजको आज उद्घाटन गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले बेलीब्रिजको समुद्घाटन गर्नु भएकोहो । समुद्घाटन पश्चात उक्त बेलीब्रिज नेपाली सेनाद्वारा सडक विभागलाई हस्तान्तरण गरिएको छ ।
पुल अभावका कारण त्यस क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीहरु प्रभावित भएका थिए ।
तत्काल बेलिब्रीज जडान गर्नका लागि २०७८ साउन २६ र कार्तिक ०३ गते बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकको निर्णय बमोजिम कार्तिक ४ गतेबाट नेपाली सेना परिचालित भएको थियो ।
बेलीब्रिज समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, गृह सचिव टेक नारायण पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. रविन्द्र नाथ श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत अन्य पदाधिकारीहरु सहभागी थिए ।
रक्षा तथा गृह मन्त्रालयका सह-सचिवहरु, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सडक विभागका पदाधिकारीहरु, हेलम्बु गाउँपालिकाको अध्यक्ष, नेपाली सेनाका रथीवृन्दलगायत अधिकृत तथा अन्य सुरक्षा निकायका अधिकृतहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८, १९:५८