काठमाडौँ । गायिका लता मङ्गेशकर उपचारको क्रममा निधन भएको छ ।
केही दिनअघि कोरोना सङ्क्रमण भएपछि मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा जनवरी महिनाको सुरुवातदेखि नै उहाँको उपचार भइरहेको थियो ।
लता मङ्गेशकरको भेन्टिलेटरमा राखेर उपचार भइरहेको तर आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँको निधनमा शोक व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत भन्नुभएको छ, ' यतिबेला मलाई परेको दुखको बयान गर्न सक्दिन । दयालु अनि सबैको ख्याल राख्ने लता दिदीले हामीलाई छोडेर जानुभयो । आउने पीढीले भारतीय संस्कृतिको विकासको प्रणेताका रुपमा उहाँलाई याद गरिरहनेछ ।' मोदीले थप्नुभएको छ,'लता मङ्गेशकरको आवाजमा मानिसलाई मन्त्रमुग्ध बनाउने अतुलनीय क्षमता थियो।'
भारतको प्रतिष्ठित 'भारत रत्न', 'दादा साहेब फाल्के' लगायत दर्जनौँ सम्मान पाउनु भएका लता मङ्गेशकरले केही नेपाली गीतमा पनि स्वर दिनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८, ११:०४