काठमाडौँ । बालबालिकाको क्षेत्रमा क्रियाशील प्लान इन्टरनेशनलले ‘राम्रो वर्तमान’ अर्थात बेटर टुडे नामक प्रतिवेदन सार्वजनिक गरेको छ ।
कोभिड-१९ का विषयमा युवाहरूका धारणा तथा दृष्टिकोण पनि यो प्रतिवेदनमा समावेश गरिएको छ ।
यसका लागि एशिया प्यासिफिकका युवालाई कोभिड-१९ महामारीको समयमा आफ्ना साथीहरूको व्यक्तिगत कथा र अनुभव सुन्न, सहानुभूति र प्रोत्साहनका पत्र आदानप्रदान गर्न, तथा तस्बिरमार्फत आफूले भ्रमण गर्न चाहेको संसार हेर्नको लागि आह्वान गरिएको थियो ।
‘राम्रो वर्तमान’ प्रतिवेदन युवाहरूले महामारीका बेलामा भोगेका तथा महसुस गरेका समस्या तथा पीडाहरूको साथै वर्तमानलाई कसरी हेरेका छन् ? भन्ने विचारको सङ्कलन हो ।
प्रतिवेदनमा भियतनामकी एक युवती फुङगो आनले कम्बोडियाकी आफ्नो समकक्षी सरलीनलाई लेखेको पत्र पनि उल्लेख छ ।
जसमा उनले आजलाई राम्रो बनाउन चाहने धेरै युवा सहभागीहरूको भावनालाई प्रतिनिधित्व गर्छिन् ।
उनले भनेकी छिन्, ‘पानीमा नाच्न पक्कै पनि सरल छैन, तर यो हाम्रो जीवन हो । कोभिड-१९ को कहर अन्ततः हट्यो भने पनि, मानिसलाई अन्य धेरै घटनाहरूले पर्खिरहेका छन् । त्यसैले, कहिल्यै नआउने उपयुक्त समयको पर्खाइमा बस्नुभन्दा पनि म हरेक दिन केही क्षण भएता पनि आफ्नो जीवन रमाइलोसँग बिताउँछु । मेरा लागि सुन्दर भविष्य एउटा साधारण दिन हो, जहाँ हरेकले जीवनका अपूर्णता र कठिनाइहरूलाई अङ्गाल्दै सुन्दर पलका लागि अगाडि बढन सक्छन् ।’
कोभिड-१९ महामारीको दोस्रो वर्षले एसिया क्षेत्रमा रहेका सम्पूणर् युवालाई विभिन्न खाले चुनौती खडा गरिदिएको छ ।
लामो समयसम्म गरिएको लकडाउन र योसँगै आएको निराशावादी सम्भावना तथा सङ्क्रमणका कारण युवाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोभिड १९ ले आर्थिक चुनौती, शिक्षामा अवरोध, अनलाइन तथा अफलाइन लैङ्गिक हिंसा निम्त्याएको छ ।
एसियाली विकास बैँकका अनुसार २०२० मा कोरोना महामारीका कारण ८ करोड मानिस चरम गरिबीको रेखामुनि पुगेका छन् ।
यो अवस्थामा वेटर टुडे नामक प्रतिवेदनको निष्कर्ष तथा पात्रहरूले २०२१ मा एसिया क्षेत्रमा रहेका हरेक युवाहरूका लागि यसले वास्तवमा के अर्थ राख्छ भनेर चित्रण गरेका छन् ।
नेपालकी मुना नाम गरेकी एक बालकिाले प्रतिवेदनमा अनुभव समावेश गर्दै भनेकी छिन्, ‘ कोभिड १९ ले बालबालिकाको पढाइमा गम्भीर असर पुर्याएको छ । यसका साथै, उनीहरूको मानसिक स्वास्थ्यमा पनि प्रभाव पारेको छ । यो महामारी चारैतिर फैलिएकाले सबैको अवस्था उस्तै छ ।’
एजित, इन्डोनेसियाका एक युवा प्रतिनिधिले महामारीको प्रभावका बारेमा भनेको छन्, ‘यो कोभिड-१९ महामारीका कारण हामीले कल्पना गरेकोभन्दा कठिन पीडा भोग्नुपर्यो । यसले हाम्रोे जीवन छियाछिया बनाउनुका साथै सोच्न बाध्य बनायो ।’
प्लान इन्टरनेशनलकी एशिया क्षेत्रका लागि कार्यकारी निर्देशक भाग्यश्री डेंगल भन्छिन्, ‘सन् २०२० देखि हामीले सामाना गर्दै आएको कोभिड-१९ का कारण यस क्षेत्रका युवाले केही नकारात्मक प्रभावसँग सङ्घर्ष गर्नुका साथै केही जटिल तनावहरूको सामना गर्दै आएका छन् । योसँगै अब हामीेले तेस्रो वर्षको पनि सामना गर्दैछौँ ।’ उनी अगाडि भन्छिन् , ‘यसका लागि विशेषतः किशोरीहरूलाई सरकार र सामाजिक सेवा प्रदायकहरूबाट थप बलियो सहयोगको खाँचो छ ।
प्लान इन्टरनेशनलको अनुमानमा १ करोड ३ लाख किशोरीहरू बालविवाह, कम उमेरमा हुने विवाह तथा जबरजस्ती हुने विवाहको जोखिममा रहेका छन् भने कोभिड-१९ का कारण किशोरावस्थामा गर्भधारण गर्ने सम्भावना पनि बढेको छ ।
इन्डोनेसियाकी माया नाम गरेकी किशोरीले अनलाइनमा हुने लैङ्गिक हिंसाले अन्य किशोरीहरूलाई कत्तिको नकारात्मक असर गर्छ भन्ने सोचेर आफू ज्यादै चिन्तित भएको बताएकी छिन् । ‘मैले अनलाइनमा धेरै लैङ्गिक हिंसाको सामना गरेकी छु । केही समयका लागि मैले सामाजिक सञ्जाल चलाउन छोड्नुको यो पनि एउटा कारण हो ।’ उनले अघि थप्दै भनेकी छिन् ।
यो प्रतिवेदनले यस क्षेत्रका साहसिक र आत्मविश्वासी युवाहरूको विभिन्न पहललाई उजागर गर्दछ, जसले कोभिड-१९ का प्रभावहरूको सामना गरेका छन् ।
एसिया क्षेत्रमा सक्रिय रहेको प्लान इन्टरनेशनलले बालबालिका र युवाहरूको अर्थपूणर् सहभागितालाई प्राथमिकता दिँदै उनीहरुसँग कार्य गर्नका लागि प्रतिबद्ध रहेको पनि जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८, १४:१७