लक्ष्मण विश्वकर्मा, रेडियो प्रकृति दाङ
दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका- ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा बिहान दुई बजेतिर भएको आगलागीमा परेर पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
हुसेन बक्सले सञ्चालन गरेको उक्त पसलमा आगलागी हुँदा मृत्यु भएकाहरूको शव बाहिर निकाल्न समस्या भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
घटनामा बालबालिकासहित पाँचको शव रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
आगो पूणर् नियन्त्रणमा आएको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको डिएसपी अर्यालले जानकारी दिनुभयो ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने शङ्का गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८, ०८:३१