काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाका बारेमा चाँडै निर्णय लिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ।
प्रचण्डले ओलीलाई टेलिफोन गरी एमालेले निर्णय नगर्दा एमसीसी बारेको अन्योल बढेको बताउनु भएको हो ।
हिजो साँझ प्रचण्ड र ओलीको बीचमा टेलिफोन सवाद भएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सीआईएनसँग बताउनुभयो ।
दुबै नेताबीच भएको कुराकानीका बारेमा जानकारी दिँदै रिजालले भन्नुभयो, ‘एमसीसीमा तपाईँले निर्णय नगरी भएन।’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईँहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ ।, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८, १०:१९