लक्ष्मण विश्वकर्मा, रेडियो प्रकृति दाङ ।
दाङ तुलसीपुरस्थित एक जुत्ताचप्पल पसलमा भएको आगलागीमा परी मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा एकै परिवारका तीन जना र अन्य परिवारका दुई जना रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा तुलसीपुर ५ बस्ने अन्दाजी ४२ वर्षीय नजरद्दिन अली, उहाको छोरी अन्दाजी १३ वर्षीया साजिता खातुन, छोरा अन्दाजी ५ वर्षका आवीद्दिन अली, अन्दाजी १४ वर्षका हसन बकस र १७ वर्षका मसिन बकस रहेको उहाँले बताउनुभयो ।
घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।
मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
तुलसी बोर्डिङचोक नजिकै हुसेन बकसले सञ्चालन गरेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा बिहान दुई बजेतिर एक्कासी आगाली भएको थियो ।
आगो विहान आठ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८, १०:३६