काठमाडौँ । २२ वर्षअघि छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’, रेखा थापाका लागि नेपाली चलचित्र यात्राको सुरुवाती विन्दु थियो ।
त्यसता बनेका सबैजसो रेखाले अभिनय गरेका चलचित्र हेर्दा प्रेमिका वा कम्जोरभन्दा पनि विद्रोही पात्रको रूपमा धेरै देख्न सकिन्छ ।
नेपाली चलचित्रमा कलाकार करिस्मा मानन्धरपछि सबैभन्दा धेरै सक्रिय मानिने रेखा थापालाई अभिनयको जग बसाउन निर्देशक नरेश पौडेल, निर्माता छबिराज ओझाको भूमिका महत्वपूणर् मानिन्छ ।
निर्माता, निर्देशकले पनि समाज रुपान्तरणको सन्देश पुर्याउने भूमिकामा उहाँलाई केन्द्रीत गर्दै गए ।
‘वरमाला’, ‘सहारा’, ‘मेरो एउटा साथी छ’ लगायत २ सयभन्दा धेरै चलचित्रमा अभिनय गर्दा मुख्य भूमिमा रेखा थाा धेरै देखिनुभयो । आफैँले निर्देशन गरेको चलचित्रमा
घनायक’ को रूपमा पनि रेखा स्थापित भएको पाइन्छ ।
‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’, ‘मालिका’ नायिका रेखा थापाले आफ्नै संलग्नतामा निर्माण गरेका चलचित्र हुन् । समाजमा सकारात्मक सन्देश दिने खालका चलचित्रको असर दर्शकमा लामो समयसम्म रहने उहाँको अनुभव छ ।
‘दिदीबहिनी, दाजुभाइ वा बुवाआमाहरूसँग बेलाबखत अन्तरक्रिया, भेटघाट हुँदा उहाँहरूले मेरो छोरी वा बालबालिका पनि तपाईँ जस्तै होस् भन्ने तपाईँको चलचित्र हेर्दा लाग्छ भन्नुहुन्छ ।’ थापाले सुनाउनुभयो, ‘मैले सबैका लागि चलचित्र बनाउने र अभिनय गर्ने हो तर धेरैले छोरीको रूपमा अझ बढी लिएको पाउँछु ।’
बालविवाह, दाइजोप्रथा र लैङ्गिक समानता, किशोरीहरूको सशक्तिकरण पछिल्लो समयमा रेखा थापाले निर्माण र अभिनय गरेका चलचित्रका विषयवस्तु हुन् ।
सन्देशमूलक चलचित्रलाई राज्यले भने कुनै सहयोग नगरेको गुनासो उहाँको छ ।
नेपाली चलचित्रलाई व्यक्तिगत रूपमा यहाँसम्म ल्याउनमा केही व्यक्तिबाट भएको प्रयासलाई सफलता ठान्ने उहाँले सरकारले भने जसरी समर्थन र सहयोग गरे जस्तो नलागेको बताउनुभयो ।
कोरोना सङ्क्रमण दर स्थिर वा कम हुँदै गएमा आगामी वैशाखमा नयाँ चलचित्रको निर्देशन तथा निर्माणको काम सुरु गर्ने योजना छ ।
नयाँ चलचित्रको नाम टुङ्गो नलागे पनि विषयवस्तुको बारेमा भने उहाँले भन्नुभयो,‘विवाह नगरी बस्न चाहाने छोरीहरू, यौन व्यवसायमा लागेका महिला, उनीहरूको बाध्यता र समाजको उनीहरूप्रतिको दृष्टिकोणका बारेमा चलचित्र केन्द्रीत हुनेछ ।’
जानकारहरूका अनुसार नेपाली चलचित्रका७० प्रतिशभन्दा धेरै दर्शक पर्दामा आफू वा आफ्नो प्रतिनिधित्व गर्ने कलाकारको अभिनय खोज्छन् ।
त्यस्तो प्रेरणा वा प्रतिनिधित्व गर्ने पात्रमा नायिका रेखा थापाको भूमिका बलियो रह्यो भन्नुहुन्छ्, एकजना कला समीक्षक प्रकाश सायमि ।
अभिनय यात्रामा ५९ को दसक ऊर्वर र २०६४ सालदेखि प्रभावशाली रुपमा रेखा देखिए पनि पछिल्लो समय चलचित्र निर्माण तथा निर्देशनमा उहाँको जोड छ ।
तर निर्देशनमा हतारभन्दा तयारी गरेर जाँदा राम्रो हुने समीक्षक सायमीको सुझाव छ । ‘सहनिर्देशक वा उपनिर्देशकको रूपमा काम गर्नु राम्रो हुन्छ वा छोटो समयको तालिम लिएर निर्देशनमा जाँदा त्यो उपलब्धिमूलक हुने देख्छु।’ सायमिले भन्नुभयो ।
चलचित्र भन्नेवित्तिकै मनोरञ्जन मात्रै हो भन्ने बुझाइ कतिपय निर्माता, निर्देशक र दर्शकहरूमा अझैँ देखिन्छ ।
तर समाजको सकारात्मक परिवर्तनका लागि महिलाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्छन्, त्यसका लागि सामाजिक कुरीरित, कुसंस्कार र गलत परम्पराविरुद्ध महिला आफैँ उत्रनुपर्छ भन्ने मान्यता चलचित्रमा स्थापित गर्न रेखा थापाको भूमिका तुलनात्मक रुपमा धेरै देखिन्छ ।
यसका लागि कतै नायिका, कतै नायक, कतै निर्देशक र कतै निर्माता भएर उहाँले खेलेको भूमिका भविष्यमा पनि प्रशंसा र चर्चाको विषय भइरहनेछ ।
विसं २०६५/६६ ताका सबभन्दा धेरै २ सयदेखि ३ सयसम्म नेपाली चलचित्र निर्माण भए । त्यसअघि ५८/५९ को बेलामा चलचित्रको सङ्ख्या ह्वात्तै घट्यो ।
निजी क्षेत्रबाट चलचित्र बनाउन थालिएको ३९ वर्ष बित्दा नायिका रेखा थापाको भूमिका भने महिला सशक्तिकरणमा प्रभावकारी देखिएको छ ।
यसबारेको अडियो सामग्री सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८, १०:४९