काठमाडौँ । सरकारले कुनै पनि हालतमा एमसीसी संसद्बाट पारित गर्ने स्पष्ट पारेको छ ।
११ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल लगायतका प्रसारण संस्थाले आज ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि हालतमा एमसीसी परियोजना संसद्बाट पारित गर्ने तयारी भएको जानकारी दिनुभयो ।
उहाँले एमसीसी परियोजना विशुद्ध आर्थिक पाटो मात्र रहेको दाबी गर्नुभयो ।
एमसीसी परियोजना बन्द कोठाबाट नआएको भन्दै उहाँले यो परियोजनालाई संसद्मा लगेर छलफल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
सत्ता गठबन्धन विशेष परिस्थितिमा बनेकाले एमसीसीका कारण यो नटुट्ने पनि मन्त्री कार्कीले बताउनुभयो ।
एमसीसी संसद्बाट छलफल गरेरै पारित हुने उहाँको भनाइ छ ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्बाट पारित गर्नुपर्नेमा जोड दिँदै सत्ता साझेदार दलसँग निरन्तर छलफल गरिरहनु भएको छ ।
सत्ता गठबन्धनभित्र नेपाली काँग्रेस र जनता समाजवादी पार्टी एमसीसी छिटो पारित गराउनुपर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संसोधन गरेर मात्रै अघि बढाउनुपर्ने पक्षमा छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८, १६:३४