काठमाडौँ । कोरोना महामारीको समयमा नेपालमा रेडियो सुन्नेको सङख्या बढेको एक अध्ययनले देखाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि भएको लकडाउनको समयमा रेडियो सुन्नेको सङ्ख्या बढेको सेयरकास्ट इनिसियटिभ नेपालले गरेको अध्ययनले देखाएको हो ।
विश्व रेडियो दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तरक्रियामा सेयरकास्टका अध्यक्ष मधु आचार्यले कोरोना कालमा ७२ प्रतिशतले रेडियो सुन्ने गरेको बताउनुभयो ।
जसमध्ये ३२ प्रतिशतले रेडियोलाई विश्वास गर्ने गरेका पाइएको उहाँले जानकारी दिनुभयो । परम्परागत रुपमा रेडियोलाई विश्वास गर्नेको सङ्ख्या पहिलेकै जस्तो भएको पनि उहाँको भनाइ छ ।
तर पछिल्लो समय रेडियो सुन्नेको अवधि दैनिक २ घण्टामा झरेकाले सुन्न लायक कार्यक्रममा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सन् २०२० मा गरिएको अध्ययनले कोरोनाको समयमा भएको लकडाउनमा रेडियो प्रभावकारी देखाएको हो ।
५९ प्रतिशत नेपालीले रेडियो सुन्ने गरेको तथा कणर्ाली र सुदूरपश्चिममा ७५ प्रतिशतले सुन्ने गरेको अध्ययनले देखाएको छ ।
सबैभन्दा कम मधेसप्रदेशमा भने ५० प्रतिशतले मात्रै रेडियो सुन्ने गरेका पाइएको छ ।
१६ वर्षमुनिका बालबालिका भएका ६५ सय परिवारमा गरिएको अध्ययनले ६७ प्रतिशत परिवारले रेडियो सुन्ने गरेको पनि देखाएको छ ।
सेयरकास्टले यो वर्ष पनि रेडियोको प्रभावकारी र यसको स्रोताको बारेमा अध्ययन गर्ने तयारी गरिरहेको अध्यक्ष मधु आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८, १८:१३