गुल्मी । पानीमा कोलिफर्म मिसिएका कारण गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटमा महामारीको रूपमा झाडापखला फैलिएको पाइएको छ ।
दुषित पानी पिएको कारण गाँउभरि नै फैलिएको महामारीले हालसम्म १ सय ५० भन्दा बढी बिरामी परेका छन् । चार जनाको तम्घास र बुटवलमा उपचार भइरहेको छ ।
स्थानीय बासिन्दाले नुरखोलाको पानी पिएका थिए । पानीमा कोलिफर्म मिसीएको कारण यस्तो प्रकोप भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख डिबी जीसीले जानकारी दिनुभयो ।
“प्रकोप नै फैलिएपछि हामीले पानीको नमूना परीक्षणको लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा पठाएका थियौँ ।” जिसीले भन्नुभयो, “त्यहाँ गरिएको परीक्षण अनुसार पानीमा कोलफर्म मिसिएको पत्ता लागेको छ, विस्तृत विवरण त केही दिनपछि आउँछ ।” । उहाँले पानीको नमूना थप परीक्षणको लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
वैशाख १० गते साँझदेखि दजाकोटमा झाडापखालाको महामारी फैलिएको कारण सिँगो गाँउ नै बिरामी परेको हो । अवस्था गम्भीर रहेकी ५९ वर्षीया कुमारी सिञ्जालीलाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको थियो ।
८६ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा विहीबारदेखि पशुपति निमाविको भवनमै स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
त्यहाँ पनि उपचार हुन नसकेपछि हाल बुटवलस्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचारको लागि पठाइएको छ । आज पनि उपचार सम्भव नहुँदा पुनः भरतपुरमा आइसियुमा राखी उपचार भइरहेको छ ।
तम्घासमा ३ जनाको उपचार भइरहेको छ । ८६ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा विहीबारदेखि पशुपति निमाविको भवनमै स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । गएको बुधबार साँझबाट एक्कासि धेरैजना बिरामी पर्न थालेका थिए । आज फेरि ६७ जना नयाँ बिरामी थपिएका छन् ।
स्वास्थ्य शाखाका प्रमुख जीसीका अनुसार धेरै बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या देखिएको छ । जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत महेश श्रेष्ठको टोली पनि शिविरमा औषधिसहित पुगेको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको मुसिकोट नगरपालिका प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
सुरुमा तल्लो गाँउका बासिन्दा मात्र बिरामी परेका थिए । दुषित पानी पिएकै कारण उनीहरू बिरामी परेको भनिएको भए पनि बिरामीलाई उपचार गर्न सहयोग गर्न पुगेका माथिल्लो गाँउका बासिन्दाहरूमा पनि यो रोगको सङ्क्रमण फैलिएको स्थानीय समाजसेवी तथा नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलले जानकारी दिनुभयो ।
बिरामी बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँमा थप सहयोगको लागि पत्राचार पनि गरिएको छ । पत्राचारपछि टोली पनि मुसिकोट आउने क्रममा छ ।
जनस्वास्थ्य कार्यालय गुल्माीबाट पनि स्वास्थ्यकर्मी झिकाइएको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको नगरपालिका प्रमुख सापकोटाको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६, १८:०८