काठमाडौँ । रकम थोरै वा धेरै भए पनि बैङ्कहरूमा ऋण लिन जाँदा प्रक्रिया झन्झटिलो हुने गुनासो सेवाग्राहीको हुन्छ । तर अब मोबाइलबाटै ऋणका लागि बैँकमा अनुरोध गर्न पाइने सुनेपछि जनकपुरका अशोक साहलाई खुसी लागेको छ ।
नेपालमै पहिलो पटक नबिल बैङ्कले मोबाइलबाटै ऋण लिनेदिने व्यवस्थाको सुरुवात गरिसकेको छ । लक्ष्मी, कुमारी लगायत बैङ्कले पनि हिजोआज यो सुविधाको सुरुवात गरेका छन् ।
हालसम्म आफूहरूले ३ हजारभन्दा धेरैलाई मोबाइल एपमार्फत दिएको आवेदनका आधारमा २ लाख सम्म ऋण दिने गरेको लक्ष्मी बैँकका प्रवक्ता नबिनमुनी बज्राचार्य बताउनुहुन्छ ।
नेपाल राष्ट्र बैँकले ३ दिनअघि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन जारी गर्दै बैङ्क वा वित्तीय संस्थाले कर्जा आवेदनदेखि असुलीसम्मको लागि सहजीकरण गर्न सेवा प्रदायक संस्थालाई भनेको छ ।
सेवाप्रदायक संस्थामा खल्ती, इसेवा लगायत २८ वटा संस्था छन् ।
आइएमइ पे का बजार व्यवस्थापन शाखा प्रमुख आमोद भट्टराइ राष्ट्र बैँकको निणर्यमा सहमति जनाउँदै विभिन्न बैँकहरूसँग पनि यसबारेमा कुराकानी भइरहेको जानकारी दिनुभो ।
तलवी खाता रहेका वा पेशागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकलाई अधिकतम ५ लाखसम्म र अन्य ग्राहकले २ लाख रुपैयाँसम्म यो कर्जा लिन पाउने राष्ट्र बैँकका सह-प्रवक्ता नारायण प्रसाद पोखरेलको भनाइ छ ।
मोबाइल एपको माध्यमबाट कर्जा लिएका व्यक्तिले एकै पटक वा किस्ताबन्दिमा ३ वर्षसम्म भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो व्यवस्थाको सुरुवात गर्नु सकारात्मक भए पनि सेवाग्राहीलाई कारोबारका बारेमा जानकारी दिनुपर्ने पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउनुहुन्छ ।
राष्ट्र बैँकका अनुसार कोरोना महामारी सुरु हुनुअघि महिनामा ९ सय अर्बको विद्युतीय कारोवार हुने गरेको थियो भने हाल यो दर प्रति महिना ५१ सय ४१ अर्ब पुगेको छ ।
विद्युतीय कारोवारप्रति सेवाग्राही आकर्षित हुँदै गर्दा ऋण लिन र दिन मोबाइल माध्यम बन्न थालेको छ । तर सेवाप्रादायक संस्थाले बैँकले जस्तै झन्झटिलो प्रक्रिया नराखून भन्ने अपेक्षा नागरिकको छ ।
कोरोना महामारीको २ वर्षभन्दा धेरै समयमा नेपालमा मोबाइलबाटै रकम लिनदिन र निकाल्ने सुविधा लोकप्रिय भयो । कोरोना संक्रमणको जोखिम नहोस् भन्दै राष्ट्र बैँकले पनि सेवा प्रदायक तथा बैङ्कहरूसँग समन्वय गरिदियो ।
प्रयोगकर्ताको माग बढ्दैजाँदा अब भने मोबाइल बैँकिङमार्फत नै बैँक तथा वित्तीय संस्थाबाट ऋण माग्न पाइने भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८, १०:३९