काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आजको बैठकमा टेबल हुने चर्चाका कारण राजनीतिक दल तथा सर्वसाधारण नागरिक र सरोकारलावा निकायको ध्यान केन्द्रीत छ ।
यद्यपी सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी परियोजनाका बारेमा छलफलका लागि टेबल हुने उल्लेख गरिएको छैन ।
एमसीसी परियोजनाका बारेमा दलहरुको साझा धारणा बनाउन सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाउनु भएको छ ।
काँग्रेस टेबल गर्नुपर्ने पक्षामा
सरकरको नेतृत्व गरेको नेपाली काँग्रेस आजको संसद बैठकमा एमसीसीका बारेमा छलफलका लागि टेबल गर्ने पक्षमा छ ।
हिजो बसेको संसदीय दलको बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा मतदान गर्न निर्देशन दिइसक्नु भएको छ ।
संसदीय दलको निर्णयका आधारमा एमसीसीको पक्षमा माहोल बनाउन र छफलका लागि केही मन्त्री र नेताहरुलाई काँग्रेसले जिम्मा दिएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले यथास्थितिमा समर्थन नगर्ने
सरकारमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रमा भने एमसीसी परिमार्जन नगरी सहमति नजनाउन नेतृत्वमाथि दवाव छ । कसरी अघि बढ्ने भन्ने बारेमा छलफलका लागि आज बिहान १० बजे संसदीय दलको बैठक बोलाइएको छ ।
सीआईएनसँग कुराकानी गर्दै नेता देवेन्द्र पौडेलले यथास्थितिमा एमसीसीको पक्षमा उभिने अवस्था नभएको बताउनुभयो ।
आठौँ महाधिवेशको परिमार्जन नगरी पारित गर्न नहुने निष्कर्सका कारण पनि अध्यक्ष प्रचण्डलाई एमसीसीको पक्षमा निर्णय गराउन सजिलो छैन ।
एमालेले संसदको अवरोध कायमै राख्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमसीसी परियोजनाभन्दा पनि संसदको अवरोधमा जोड दिने रणनीति लिएको छ । आफ्ना मागहरु पूरा नभएका कारण संसदको अवरोध कायमै राखिने प्रमुख सचेतक विशाल भट्टराईले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार आजको कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले जाने छैन ।
सरकारमा रहेको एकीकृत समाजवादीमा पनि एमसीसी परियोजना संसोधन नगरी टेबल गर्न नहुने जोड धेरै नेताको छ ।
एमसीसी परियोजना टेबल हुने चर्चासँगै विप्लव नेतृत्वको नेकपा लगायत दलहरुले आज नेपाल बन्दको आह्यवान गरेका छन् । यद्पी प्रभाव कम पार्न सबै उपाय अपनाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८, ०७:४४