काठमाडौँ । आज ७२ औँ प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। दिवसको अवसरमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम सङ्घ, प्रदेश र स्थानीयस्तरमा आयोजना गरिँदैछन् ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शुभकामना सन्देश दिँदै गणतन्त्र, सङ्घीयता संस्थागत गर्नु नै प्रजातन्त्रको आधारभूमि रहेको उल्लेख गर्नु भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८, ०८:४४