काभ्रे । युनिसेफ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सहकार्यमा कोभिड १९ लगायत विपद्को बारेमा समुदायस्तरमा गरिएको छलफलले सकारात्मक प्रभाव पारेको पाइएको छ ।
यो अभियान अन्तर्गत सामुदायिक रेडियोकर्मीको रूपमा समुदायमा पुगेर छलफल गर्ने, कोरोनाको बारेमा नागरिकमा भएको चेतना,भ्रम र वास्तविकताका बारेमा संवाद गर्ने अवसर प्राप्त भएको छ ।
रेडियोमा विपद्सँग सम्बन्धित कार्यक्रम, समाचार तयार पार्दा पनि सिकाइ भएको छ ।
समुदायमा भएको छलफलका आधारमा सामाजिक सञ्जाल फेसबुकको ग्रुपमा अनुभव आदानप्रदान गर्दा विभिन्न जातजाति, समुदाय र वर्गमा कोभिड १९ बारेको बुझाइ, भ्रम र यसबाट जोगिनका लागि अपनाइएका उपायका बारे जान्ने, बुझ्ने र आआफ्नो क्षेत्रमा पनि सकारात्मक अभ्यास गर्न पहल गर्ने प्रेरणा मिलेको छ ।
यसर्थ फेसबुक ग्रुपमा समुदायका प्रश्न तथा जिज्ञासाहरू आदानप्रदान गर्दा अर्थात मास्क मोनिटरिङ टुलले समुदायका मानिसमा सकारात्मक प्रभाव परेको छ ।
दुर्गम क्षेत्रमा रहेका पछाडि पारिएका आदिवासी, जनजाति तथा दलित समुदायमा गएर यो कार्यक्रम गरेको हुनाले त्यहाँका नागरिकहरूमा कोरोना खोपप्रति विश्वास बढेको छ ।
भ्रम, अन्धविश्वासका बारेमा जानकारी पाएपछि सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काभ्रेका केही पालिकाका नागरिकले अकोराब/सीआईएन र युनिसेफको यो अभियानमा समुदायमा गरिएको छलफलका कारणले आफ्ना छोराछोरीले कहीँ जाँदा मास्क प्रयोग गरेका छन् कि छैनन् भनेर चासो राख्न थालेको बताएका छन् ।
छलफल कार्यक्रम गर्नुभन्दा पहिले समुदायका मानिसहरू मास्क लगाएर हाट बजारमा मात्र हिड्ने गर्दर्थे तर यो छलफल कार्यक्रम भएपछि भने आफ्नो गाउँघरमा पनि मास्क लगाएर हिड्न थालेका छन् ।
बालबालिकासँग पनि यो छलफल कार्यक्रम भएको हुदा विद्यालय क्षेत्रमा मास्क लगाउने नियम भए पनि मास्क लगाइएको पाइदैन थियो ।
हामी छलफलको क्रममा विद्यालय आसपास गइरहन थाल्यौँ ।
त्यसपछि पनि विद्यालयका अधिकांश विद्यर्थीले मास्क लगाउन थालेको पाइएको छ ।
हामी समुदायमा जाँदा एउटा मात्र उद्देश्य लिएर जाने गर्दथ्यौँ तर त्यहाँ जाँदा व्यक्तिका धेरै खाले समस्याहरू, जस्तै काभ्रेको नमोबुद्ध ४ मा एक ५१ वर्षका महिलाले अझैँसम्म पनि नागरिकता कसरी कहाँ गएर बनाउने भन्ने कुरा थहा नपाएको बताइन् ।
एकल महिला भएको र विवाह गरेको घरपरिवार बेखबर भएसँगै माइतीमा आमा बुबा नभएकोले नागरिता बनाउन नसकेको उनको समस्या समाधानका लागि रेडियो रोशीले वडासम्म लगेर जनप्रतिनिधिसँग समन्वयको काम गरेको छ ।
तेमाल गाउँपालिका ६ ठूलो पर्सेलमा पुग्दा त्यहाँका महिलाहरुले वर्षौँदेखि सहँदै आएको स्वास्थ्य समस्याका बारेमा गुनासाे गरेका थिए भने स्थानीय एक किशोरीमा देखिएको मानसिक स्वास्थ्य समस्याका बारेमा पनि जानकारी भयो ।
त्यहाँको समस्या समाधानका लागि सीआईएन र रेडियो रोशीले समन्वय गर्दै केही दिनभित्रैमा स्थानीय सरकारको पहलमा स्वास्थ्य शिविर चलाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।
आफू नै खोप लगाउन नमान्ने समुदायका मानिस छलफलपछि अरुलाई खोप लगाउनै पर्छ भनी छरछिमेकीलाई सल्लाह दिने भएका छन् ।
रोशी ७ का केही पुरुषहरूले महिलाहरू कोभिड १९, विभिन्न विपद् व्यवस्थापन बारेका यस्ता छलफलमा बस्नु हुदैन भन्थे तर पछि आफ्ना श्रीमतीलाई समेत छलफलमा बस्न लगाउन थालेका थिए ।
यो अभियानका लागि स्थानीयस्तरसम्मै पुग्नुपर्ने भएका कारण कोभिड १९ को बारेमा कुन समयमा कस्तो सूचनाको अभाव र कस्तो भ्रम फैलिन्छ भन्ने बारेमा पनि थाहा पाउन सजिलो भएको छ ।
छलफल बढ्दै र निरन्तर हुँदै गर्दा समुदायका नागरिकले अनौपचारिक तथा औपचारिक रूपमा आफ्ना स्वास्थ्यबाहेकका समस्या बताउन थालेका छन् ।
कुनै एउटा व्यक्तिले आफ्नो समस्या राख्दै गर्दा अरुलाई पनि समस्या राख्यो भने समाधान हुन्छ भन्ने प्रेरणा मिलेको छ ।
जेष्ठ नागरिहरूको समस्या र उनीहरूको मनमा कोभिडका बारेमा भएका विचारलाई सुनिदिँदा उनीहरू खुसी भएको पाइयो ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८, ०९:३३