पाल्पा । पाल्पा सदरमुकाम तानसेनबाट २७ किलोमिटर पश्चिममा पर्छ, ‘अमलाबास’ गाउँ । यो गाउँमा ४० घरपरिवार बस्छन् ।
स्थानीय यमलाल कोइरालाले ४० वर्षअघि सुरु गरेको सुन्तला खेती अहिले यो गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । हिजो मकै र भटमास लगाइन्थ्यो । अरु कुनै पनि जातको बाली हुँदैनथियो । अहिले यो डाँडा ‘सुन्तलाबास’ बनेको छ ।
सबैले सुन्तला लगाएका छन् । यस्तो पहेँलपुर भएको बेलामा देखेर यमलाललाई निकै खुसी लाग्छ ।
सुन्तला खेती, गाउँको आम्दानीको स्रोत मात्रै होइन परिचय पनि हो । ‘अमलाबास’ लाई अहिले ‘सुन्तलाबास’ को नामले पनि चिन्न थालिएको छ ।
गाउँका सबैको बारीमा सुन्तला बगान छ । करिब १२ सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।
जहाँबाट प्रत्येक वर्ष ११ हजार क्विन्टल सुन्तला उत्पादन हुन्छ भने सुन्तला विक्री गरेर मात्रै गाउँमा वार्षिक २ करोडभन्दा धेरै रकम भित्रिने गरेको छ ।
सुन्तला खेती गाउँको समृद्धी र पर्यटन विस्तारको आधार बन्दै गएको छ । युवाहरू मेहनेतका कारण गाउँको मुहार फेरिएकोमा पाका पुस्ताका जति दङ्ग छन् ।
९२ वर्षका हुमलाल घिमिरे सुन्तला खेती फस्टाएपछि स्वर्ग भन्ने यही रहेछ जस्तो लाग्न थालेको बताउनु हुन्छ ।
गाउँमा २ सयभन्दा धेरै जनसङ्ख्या छ ।
युवाहरूले आफ्नै माटोमा पौरख गरेका छन्, ‘सुन्तलाबास’बाट रोजगारी खोज्दै विदेश जानेहरू छैनन् ।
सबैजना व्यावसायिक फलफूल खेतीमा संलग्न छन् । कमाइ पनि चित्त बुझ्दो छ । स्थानीयको मेहनेत र पसिनाले फेरिदै गएको गाउँ प्राकृतिक हिसाबले पनि सुन्दर छ ।
यहाँबाट अन्नपूर्ण, धौलागीरी, माछापुच्छ्रेसहित दर्जनभन्दा बढी हिमाल नियाल्न पाइन्छ । गाउँलाइ कृषिसँगै पर्यटकीय रूपमा विकास गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको छ ।
‘सुरुमा दुईचार घरले परीक्षणको रुपमा सुन्तला खेती गरेका थिए । अहिले भने ४० भन्दा धेरै घरपरिवारले सुन्तला खेतीबाट राम्रो आम्दानी लिइरहेको अवस्था छ ।’ यो गाउँबाट सबैभन्दा बढी सुन्तला बेच्न सफल कमल घिमिरेले सुनाउनुभयो ।
गाउँका नागरिकको सपनासँग सरकारी सहयोग पनि जोडिएको छ ।
कृषि ज्ञान केन्द्र तथा स्थानीय सरकारले सुन्तला खेती प्रर्वद्धन तथा गुणस्तरीय उत्पादनका लागि मल, बिरुवा, प्राविधिक सहयोग र औषधि उपलब्ध गराउँदै आएको वडा अध्यक्ष बिष्णु पोखरेलले बताउनुभयो ।
मेहनेतको पर्याय यो गाउँमा व्यवस्थित सडक, सिँचाइ र पिउने पानीको पर्याप्तता भने छैन ।
यी पुर्वाधारमा सुधार आए गाउँलाइ उत्पादन र पर्यटनको हिसाबले अझै अब्बल बनाउन सकिने स्थानीय बताउँछन् ।
विकासका पूर्वाधार नहुँदा पहाडी क्षेत्रका गाउँ रित्तिंदै गएका छन् । मानिसहरू सुख, सुविधाको खोजीमा सहर पस्ने क्रम बढ्दो छ ।
हावापानी र माटो चिन्न सके अनि मेहनत गर्न सके आफ्नै ठाउँलाई समृद्ध बनाउन सकिन्छ । आफ्नै पौरखले पहिचान बदल्न सफल, पाल्पाको ’सुन्तलाबास’ गाउँको कथाको सार यही हो ।
अडियो रिपोर्ड सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८, ११:३९