काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि प्रस्ताव हुने भएको छ ।
सरकारले गत आइतवारको बैठकमा टेबुल गरेको एमसीसी आज छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार छलफलका लागि पेश भएपपछि प्रतिनिधिसभा सदस्यले यसबारेमा आ–आफ्नो धारणा राख्नेछन् ।
त्यसपछि एमसीसीका बारेमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि ध्वनी मतले पास भए छलफलका लागि निर्णायार्थ पेश हुने उहाँले सीआइएनलाई जानकारी दिनुभयो ।
सरकारको नेतृत्व गरिरहेको पाँच दलको गठबन्धनमा अहिलेसम्म काँग्रेसले एमसीसी संसद्बाट पारित गर्ने निर्णय गरे पनि अरु दलले भने अहिले कै अवस्थामा पारित हुन नहुने बताइरहेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले आजको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
एमसीसीबारे सैद्धान्तिक छलफल हुने भएकाले सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको काँग्रेस नेता मीन विश्वकर्माले सीआईएनसँग बताउनुभयो ।
माओवादी केन्द्रले भने गठबन्धन जोगाउनको लागि मात्रै एमसीसी टेबल गर्न दिएको बताउँदै यसको पक्षमा मतदान नगर्ने दाबी गरेको छ ।
आजको बैठकमा पनि यसको विरोध गर्ने तयारी माओवादीले गरेको नेता जयपुरी घर्तीमगरले सीआइएनलाई जानकारी दिनुभयो ।
सत्ताघटक अर्को दल नेकपा एकिकृत समाजवादीले भने एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
तर, मतदानको प्रक्रियामा गएको खण्डमा सांसदहरूलाई मतदान नगर्न ह्वीप लाउने, नलाउने बारेमा भने अझै पनि निर्णय भएको छैन ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता विमल श्रीवास्तवले सीआईएनलाई जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा)ले पनि एमसीसीलाई पारित गर्नुपर्ने बताइसकेको छ । एमसीसी पारित गर्नको लागि हाल सम्म काँग्रेसलाइ, जसपा र लोसपाको साथ रहने देखिएको छ ।
एमसीसीको विरोधमा नागरिक स्तरबाट पनि प्रर्दशन भइरहेको छ ।
एमसीसी संसद्मा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८, ११:०३