काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का बारेमा छलफल सुरु हुने भएको छ ।
हिजो नै प्रस्ताव पेस गर्ने तयारी गरिए पनि अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार छलफलका लागि पेश भए पनि प्रतिनिधिसभा सदस्यले यसबारेमा आ–आफ्नो धारणा राख्नेछन् ।
त्यसपछि एमसीसीका बारेमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि ध्वनी मतले पास भए छलफलका लागि निर्णायार्थ पेश हुने उहाँले सीआइएनलाई जानकारी दिनुभयो ।
सरकारको नेतृत्व गरिरहेको पाँच दलको गठबन्धनमा अहिलेसम्म काँग्रेसले एमसीसी संसद्बाट पारित गर्ने निर्णय गरेको भए पनि अरु दलले भने अहिलेकै अवस्थामा पारित हुन नहुने बताइरहेका छन् ।
काँग्रेसले आजको संसद बैठकमा अनिवार्य उपस्थित हुनका लागि आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।
माओवादी केन्द्रले भने गठबन्धन जोगाउनको लागि मात्रै एमसीसी टेबल गर्न दिइएको बताउँदै यसको पक्षमा मतदान नगर्ने दाबी गरेको छ ।
सत्ताघटक अर्को दल नेकपा एकिकृत समाजवादीले भने एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना माग पूरा नभएसम्म समर्थन नगर्ने अडान लिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले पनि एमसीसीलाई पारित गर्नुपर्ने बताइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८, ०९:१६