काठमाडौँ । पशुका लागि आवश्यक पर्ने खोप भण्डारण गर्न प्रदेश सरकारहरूले खोप बैङ्क स्थापनामा तीव्रता दिएका छन् ।
राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ मा पशुपन्छीलाई लगाइने खोप भण्डारणका लागि सबै प्रदेशमा खोप बैङ्क स्थापना गर्ने उल्लेख छ । त्यसैअनुसार पशुपन्छीलाई लगाइरहनुपर्ने खोप सुरक्षित राख्न खोप बैङ्क स्थापना गर्ने नीति सरकारको छ ।
बागमती प्रदेशले अहिले प्रदेशस्तरमै खोप उत्पादन गर्ने र खोपको भण्डारण गर्न बैङ्क स्थापना गर्ने तयारी गरेको छ ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईँले खोप बैङ्क स्थापना गर्न आगामी वर्षका लागि बजेट व्यवस्था गर्ने गरि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
हाल जनकपुर, पोखरा, सुर्खेत, धनगढी र विराटनगरमा पशु खोप बैङ्क सञ्चालनमा छ ।
प्रदेश १ सरकारले पनि खोप बैँक स्थापना गर्ने वा विराटनगरमै रहेकोलाई स्तरोन्नति गर्ने भन्नेबारे छलफल गर्ने तयारी गरेको छ ।
नेपालमा पशुपन्छीलाई लगाइने १३ प्रकारका वार्षिक साढे ५ करोड मात्रा खोप उत्पादन हुन्छ ।
त्यसरी उत्पादन हुने खोपलाई प्रदेश र स्थानीय तहमार्फत किसानसम्म पु¥याउनका लागि खोप बैँक स्थापनामा प्रदेश सरकार लागि परेका छन् ।
पशु स्वास्थ्य सरकारको प्राथमिकतामा नपरेको गुनासो किसानहरूले गर्दै आएका छन् । लुम्बिनी प्रदेशमा खोप बैङ्कको आवश्यकता महसुस गरिए पनि प्रक्रिया सुरु गरिएको छैन ।
कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले प्रदेशका लागि खोप बैङ्क अतिआवश्यक भए पनि स्थापना गर्नेबारे तत्कालै भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
सरकारी निजी खोप उत्पादन प्रयोगशालामार्फत पशुपन्छीका प्रमुख रोगहरूको प्रभावकारी नियन्त्रण गर्न आवश्यक खोप उत्पादन बढाउने र मुलुकलाई पशपन्छीका खोपमा आत्मनिर्भर बनाउने सरकारको नीति छ ।
पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले नीति कार्यान्वयन गर्ने तीनै तहको सरकारको जिम्मेवारी भएको बताउनुभयो ।
खोपको भण्डारण, वितरण र प्रयोगसम्म गुणस्तरको सुनिश्चितता गर्न खोपको चिस्यान व्यवस्थालाई थप सुदृढ गर्ने पशु स्वास्थ्य नीतिमा छ ।
गाइभैँसीलाई खोरेत, बाख्रालाई पीपीआर, कुखुराका लागि रानीखेत लगायतका रोगबाट जोगाउन खोप लगाउनुपर्छ तर खोप भण्डारण केन्द्र बनिनसकेका कारण किसानले सजिलै पाउन सकेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८, ०९:४२