काठमाडौँ । सरकारमा रहेका ५ राजनीतिक दलहरूको बैठक आज बस्दैछ ।
बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना, एमसीसी अघि बढाउने बारेमा साझा सहमति गर्ने तयारी दलहरूको छ ।
एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडेर भए पनि नेकपा एमालेसँग सहकार्य गर्ने चेतावनी दिएपछि माओवादी केन्द्र र नेकपा एस अफ्ठेरोमा परेका छन् ।
गठबन्धन भत्किँदा एमाले फेरि सत्तामा आउने चिन्ता दुवै दलमा छ । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विरोध गर्दै आफ्ना नेताकार्यकर्ता सडकमा उतार्दै आएका छन् ।
एमालेसँग भएका निरन्तरका छलफलमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सहयोगको अपेक्षा भए अहिलेको गठबन्धन तोडिनुपर्ने बताएपछि काँग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि दवाव बढाउँदै गएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८, ०८:२४