तनहुँ । तनहुँको डुम्रेबाट लमजुङको बेसीसहरका लागि हिँडेपछि १७ किलोमिटर पर बाइसजङ्घार बजार आईपुग्छ । तनहुँको भानु नगरपालिकामा पर्ने यो बजार मर्स्याङदी नदीको किनारमा छ ।
तर बाइसजङ्घारबाट डेढ घण्टा उकालो हिँडेपछि पुर्कोट पुगिन्छ । पुर्कोटसँग कुनै समय सेन राजाहरूले राज्य गरेको इतिहास मात्रै छैन, वर्तमानको काकाकुल कहानी पनि छ ।
पुर्कोटमा पानीको दुख छ, भन्ने सुनेपछि म त्यसतर्फका लागि उकालो लागेँ । २२ वर्षका सुस्मा थापा सुत्केरी भएको डेढ महिनाजति भयो । उकालो चढ्दै गर्दा रित्तो गाग्री बोकेर ओरालो झर्दै गरेको बाटैमा भेटेँ ।
पुर्कोटको भुगोल दक्षिण फर्किएको हल्का भिरालो जस्तो छ । ठुल्ठूला टारबारी छन् । तर नाङ्गै । करेसा–बारी, बगैचा कतै पनि हरियो देखिएन । नानीमाया थापा, मध्यान्हको घाममा असिनपसिन भएर बारीमा काम गर्दै हुनुहुन्छ ।
भानु नगरपालिका वडा नम्बर ७, ८ र ९ मा १३ सय ५१ घरधुरी छन् । जहाँ ५ हजारभन्दा धेरै मानिसहरू बसोबास गर्छन् । तर पानी खोज्दै तिर्खा मेटाउन हिडेकाहरू फेरि फर्किएका छैनन् । बिस्तारै बस्ती पातलिँदै छ । गाउँमा केश फूलेकाहरु मात्रै भेटिन्छन् ।
सुख्खा बारी आकासे पानीको पर्खाइमा छ । चिलाउने र सल्लाका बोट पनि वर्षात, झरी पर्खिरहेका छन् । नानीमायालाई सागसब्जी लगाउने धोको छ तर पानी नहुँदा पूरा भएको छैन । ‘चर्पी छ, तर दिसापिसाव गर्न जङ्गलतिर जानुपर्छ । पानी भए पो चर्पी जानू ।’ नानीमायाले सीआईएनसँग भन्नुभयो ।
चर्पीको ढोकामा माकुराको जालो जेलिएको छ । रहर भएर पनि यहाँका किसान गाईभैंसी पाल्दैनन्, पानी खुवाउनु पर्ने दुख र चिन्ताले ।
हरेक घर अगाडिका धाराबाट पानी चुहिँदैन । आकासको पानी बलेसीहुँदै घैटोमा झर्छ । घर अगाडि राखिएका घैँटोबाट मुस्किलले एक महिना पानीको गर्जो टर्छ । बाँकी ११ महिना पुर्कोटलाई तिर्खा मेट्नै मुस्किल पर्छ ।
स्थानीय ज्ञानी थापा ६७ वर्ष पुग्नुभयो । उहाँ विहे गरेर पुर्कोट आएको ५० वर्षभन्दा धेरै भईसक्यो । वितेका ५० वर्षमा, पानी पिउन नपाएर बितेका दिनको हिसाव कसरी होस् ।
ज्ञानी सम्झनुहुन्छ, ‘आँधी हुरी आछ । घरमा पानी छैन । अब पानी नभईकन मान्छे बाँच्दैन । पधेँरा जान सकिएन । त्यस्तो बेला पोखरीमा जम्मा भएको सङ्लो सङ्लो पन्छाएर ल्याएर, या चराले हगोस् या मान्छेले हगोस् खाईयो । चाहे मस्र्याङ्दीको, चाहे पोखरीको, चाहे अरु खोलानालाको भए पनि चाहियो पानी त्यहाँ भन्दा अरु चाहिएन ।’
भानु नगरपालिका वडा नम्बर ७, ८ र ९ मा १३ सय ५१ घरधुरी छन् । जहाँ ५ हजारभन्दा धेरै मानिसहरू बसोबास गर्छन् । तर पानी खोज्दै तिर्खा मेटाउन हिडेकाहरू फेरि फर्किएका छैनन् । बिस्तारै बस्ती पातलिँदै छ । गाउँमा केश फूलेकाहरु मात्रै भेटिन्छन् । बारी बाँझो हुँदै गएको छ । घर रित्तिदैँ गएका छन् ।
पानीको बन्दोबस्त गर्ने जिम्मा प्रायः महिलाहरूकै हुन्छ । घरको कामधन्दा र बनिबुतोमा खटिने महिलाहरू पानीको जोहो गर्दागर्दै अरू काम सहजै निप्टाउन पाउँदैनन् । खानेपानीको दुख यति छ कि, अन्य गाउँका मानिसले पुर्कोटका युवालाई छोरीचेली दिन अप्ठेरो मान्छन् ।
यसवर्ष प्रदेश सरकारले पुर्कोटमा खानेपानीको योजनाका लागि ४० लाख छुट्याएको थियो । त्यो रकमले डीपीआर भएको छ । यसवर्ष थप कामका लागि प्रदेश सरकारले बजेट छुट्याउँछ । अबको दुई वर्षभित्र पुर्कोटमा खानेपानी कुनै समस्या नहुने सांसद गुरुङले दावी गर्नुभयो ।
गर्मीको याम । बतास नचले, श्वास फेर्नै गाह्रो होला जस्तो । सल्लाका रुखहरू सुसाएपछि पुर्कोटमा शीतल फर्किन्छ । तर सल्ला सुसाउँछ मात्रै, रसाउँदैन । पुर्कोटलाई रसिलो जमिन चाहिएको छ । जमिनमा रस भर्ने, रुख चाहिएको छ ।
यसो दक्षिण फर्किएर हेर्दा मस्र्याङ्दी बगिरहेको देखिन्छ । तर मस्याङ्दी हेरेर पुर्कोटको प्यास कसरी मेटियोस् ।
के भन्छ स्थानीय सरकार ?
पुर्कोटमा एक थोपा पानीका लागि भइरहेका दुःख देखेपछि म वडा नम्बर ९ को कार्यालयमा पुगेँ ।
पुर्कोटको प्यास मेटन स्थानिय सरकारको योजना के छ ? जान्ने कोशिस गरेँ भानु नगरपालिका वडा नम्बर ९ का अध्यक्ष निलमसञ्जिवा श्रेष्ठसँग । उहाँले स्थानीय तहले पुर्कोटमा पानी ल्याउन सम्भव नभएको बताउनुभयो ।
प्रदेश सरकार के गर्दैछ ?
स्थानीय सरकारको बुताले पुर्कोटका नागरिकको तिर्खा मेटिन नसक्ने देखिएपछि त्यही जिज्ञासा मैले त्यही क्षेत्रका प्रदेश सांसद रामबहादुर गुरुङलाई पनि सोधेँ ।
यसवर्ष प्रदेश सरकारले पुर्कोटमा खानेपानीको योजनाका लागि ४० लाख छुट्याएको थियो । त्यो रकमले डीपीआर भएको छ । यसवर्ष थप कामका लागि प्रदेश सरकारले बजेट छुट्याउँछ । अबको दुई वर्षभित्र पुर्कोटमा खानेपानी कुनै समस्या नहुने सांसद गुरुङले दावी गर्नुभयो ।
सरकारका अनुसार ८८.२ प्रतिशत जनसङ्ख्यामा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ । पुर्कोट जस्ता थुपै्र बस्ती छन्, जहाँका नागरिक वर्षौदेखि तिर्खामा बाँचिरहेका छन् ।
अडियो सुन्नका लागि तलको लिङ्कमा जानुहोस्
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६, १६:०३