काठमाडौँ । स्याङ्जाका सविन बोगटीको जन्मँदै दुवै आँखामा दृष्टि थिएन । उहाँको यो समस्या परिवारले तीन वर्षको उमेरमा मात्र थाहा पायो ।
त्यसपछि उपचारको लागि काठमाडौँका विभिन्न अस्पताल लगियो ।
तर, उपचार सम्भव नभएको प्रतिक्रिया आयो । परिवारले आश मारेनन् ।
विभिन्न अस्पताल जाने क्रममा तिलगङ्गा आँखा अस्पताल पुग्नुभयो । त्यहाँ लगातारको उपचारपछि चिकित्सकले आँखाको शल्यक्रिया गर्न सकिने बताए ।
तर, त्यो सफल हुन्छ नै भन्ने थिएन । जोखिम मोल्न परिवार राजी भयो ।
त्यसपछि ११ वर्षको उमेरमा २०६३ सालमा सविनको दायाँ आँखाको नानी प्रत्यारोपण गरियो । जन्मजात आँखा नदेख्ने उहाँले पहिलोपटक बाहिरी संसार देख्नुभयो ।
‘११ वर्षसम्म मैले धेरै सङ्घर्ष गरे, आफ्नो काम गर्न पनि अरूको भर पर्नुपर्ने, नसक्ने भएकैले अरूले नगरिदिए मन मार्नुको विकल्प थिएन ।’, उहाँ भन्नुहुन्छ, ‘आँखाको नानी दानको विकास नेपालमा नहुँदो हो त म जीवनभर दृष्टिविहीन हुने थिएँ ।’
११ वर्षको उमेरमा गरेको शल्यक्रिया सफल भएपछि १५ वर्षको उमेरमा बायाँ आँखाको पनि शल्यक्रिया भयो ।
अहिले सविन दुवै आँखा राम्ररी देख्नुहुन्छ । आफैँ गाडी कुदाउनु हुन्छ । आफ्नो काम गर्न कसैको भर पर्नु पर्दैन । कसैले मृत्युपछि दान गरेको नानीले आफ्नो जीवन परिवर्तन भएको उहाँ बताउनुहुन्छ ।
नेपालमा अहिलेसम्म १६ हजार ६ सय ४३ जनालाई आँखाको नानी प्रत्यारोपण गरिएको छ । मृत्युपछि खेर जाने आँखाको नानी दान गरे अरुलाई सहयोग हुने दृष्टि पाएकाहरु बताउँछन् ।
‘मृत्युपछि जलेर खरानी हुने नानी मैले पाएँ । यसले मेरो जीवन नै बदलियो । त्यसैले मृत्युपछि खेर जाने नानी दान गर्नुपर्ने रहेछ । ’ सविनले थप्नुभयो ।
दुवै आँखाको नानी सफल प्रत्यारोपण भएपछि सविनलाई जीवनमा योभन्दा अरु कुनै खुसी छ जस्तो लाग्दैन ।
अनि आँखाको ज्योति फर्कियो
सिन्धुपाल्चोक हेलम्बुका कुमारी लामा सानो छँदा बायाँ आँखामा आनो आयो । उहाँलाई उमेर याद छैन । तर, बुवाले डाक्टरको सल्लाह बिना नै ल्याएको औषधि हालेपछि दुवै आँखाको दृष्टि कमजोर हुँदै गयो ।
त्यसपछि अस्पताल लैजानुको सट्टा महिनौ दिन धामीझाँक्री र मन्दिर लगियो ।
‘दिउँसो बुबाआमा काम गर्न जानुहुन्थ्यो । घरमा रहेका दाइदिदीले आँखामा पानी छ्यापिदिने गर्नुहुन्थ्यो । त्यसपछि आँखा झन् फुलेर आउँथ्यो’, उहाँ सम्झनुहुन्छ, ‘यो क्रम बढ्दै गएपछि ‘मोटू बजु’ले अस्पताल लैजान सुझाव दिनुभयो । अनि झाँक्री भागेर गए । मेरो उपचार सफल भयो । आँखाको ज्योति फर्कियो ।’
नानी प्रत्यारोपणले दृष्टि गुमाएका आम नागरिकले नयाँ जीवन पाएको अनुभूत गरेका छन् । तर आँखामा जथाभावी औषधिको प्रयोग गर्ने बढेकै कारण हरेक वर्ष नानी प्रत्यारोपण गराउनुपर्ने व्यक्तिको सङ्ख्या बढिरहेको चिकित्सक बताउँछन् ।
अरुको शरीरको अङ्गले आफूलाई संसार देखाएको भन्दै उहाँले आफ्नो मृत्युपछि मिल्नेजति सबै अङ्ग दान गर्ने सङ्कल्प गर्नुभएको छ ।
स्याङ्जाका सविन र सिन्धुपाल्चोकका कुमारीको समस्या त प्रतिनिधि घटना मात्रै हुन् ।
नेपालमा अहिलेसम्म १६ हजार ६ सय ४३ जनालाई आँखाको नानी प्रत्यारोपण गरिएको छ । मृत्युपछि खेर जाने आँखाको नानी दान गरे अरुलाई सहयोग हुने दृष्टि पाएकाहरु बताउँछन् ।
२७ वर्षदेखि आँखाको नानी प्रत्यारोपण
काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठानमा रहेको आँखा बैंकका निर्देशक शङ्खनारायण त्वायना आँखाको नानी प्रत्यारोपण नेपालमा ९५ दशमलव ६ प्रतिशत सफल भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘नेपालमा आँखाको नानी प्रत्यारोपण हुन थालेको २७ वर्ष भयो । यसले दृष्टि नभएकालाई नयाँ जीवन दिएको छ । उनीहरूका लागि नानी दान वरदान बनेको छ ।’
दान गरिएको नानी प्रत्यारोपण गर्नुअघि स्वस्थ भएनभएको जाँचेर एकिन गरिन्छ ।
जन्मजात वा जन्मपछि दृष्टि गुमाउनेका लागि सरकारी तथा गैरसरकारी गरेर एक दर्जनभन्दा बढी आँखा अस्पतालमा बनेका छन् ।
विभिन्न अस्पतालमा हुने नानी प्रत्यारोपणले दृष्टि गुमाएका आम नागरिकले नयाँ जीवन पाएको अनुभूत गरेका छन् ।
तर आँखामा जथाभावी औषधिको प्रयोग गर्ने बढेकै कारण हरेक वर्ष नानी प्रत्यारोपण गराउनुपर्ने व्यक्तिको सङ्ख्या बढिरहेको चिकित्सक बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८, १२:२३