काठमाडौँ । एक बालिकामाथि भएको दुर्व्यवहारविरुद्धको विरोध प्रदर्शनले हिंसाको रूप लिएपछि मोरङको लेटाङ क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ ।
सम्भावित घटना नहोस् भन्न जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सीआईएनसँग बताउनुभयो ।
लेटाङ नगरपालिका- ५ खेरूवास्थित शिक्षा विकास माविमा भड्किएको हिंसामा हिजो एक प्रहरी जवानको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो ।
लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचौक र कमलपुर क्षेत्र , वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
हिजो साँझ लेटाङ ५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक छात्रामाथि होलीका दिन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
घटनाबारे विद्यालयमा बसेको शिक्षक र अभिभावकको बैठकले कानुनी कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाउने निणर्य गरेको थियो । त्यसपछि पुगेको प्रहरी टोलीमाथि स्थानीयबासीले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्य भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८, १०:०३