सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
माघ मसान्तसम्म २ अर्ब ४ करोड राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो ।
८२ करोड ६४ लाख लक्ष्य रहेकोमा यो लक्ष्यको २४७.१७ प्रतिशत हो । गत आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म १ अर्ब ६४ करोड लक्ष्य लिएकोमा २ अर्ब ४ करोड राजश्व उठेको थियो ।
राजश्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले जानकारी दिनुभयो । ‘हिजो २ वटा मात्रै कन्टेनर भित्रिए । कुनै दिन त आयात शून्य हुने गरेको अवस्था पनि छ । नाका सुचारु गर्न उच्चस्तरीय पहल गर्नुपर्ने देखिएको छ ।’ गौतमले भन्नुभयो ।
२०७२ सालको भूकम्प, त्यसपछिको बाढी, पहिरो तथा कोरोना महामारीपछि नाका सहज रुपमा सुचारु हुन सकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताउनुभयो ।
नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल , ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोला लगायत छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८, १०:०१