नेपालगञ्ज । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन आजदेखि बाँकेको नेपालगञ्जमा सुरु हुँदै छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा सुरु हुने सम्मेलनको बिहान साढे ८ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडुले उद्घाटन गर्ने अकोराबका केन्द्रीय कोषाध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक रेडियोको क्षेत्रमा सकारात्मक र महत्वपूर्ण भूमिका खेलेको भन्दै अकोराबका पूर्वअध्यक्षद्वय मीनबहादुर शाही र मोहन चापागाईँ, रेडियो अभियन्ता दधिराम सुवेदी, बडघर पतिराम थारु र कलाकार श्यामानन्द सिंहलाई उद्घाटन सत्रमा सम्मान गरिने छ ।
उद्घाटन सत्रपछि 'बालविवाह, स्थानीय सरकार र रेडियो', 'सामुदायिक रेडियोका अनुकरणीय अभ्यास', 'सामुदायिक रेडियो अवसर, चुनौती र अबको बाटो', 'सामुदायिक रेडियो र महिला', 'भाषाभाषी कला संस्कृति संरक्षणमा रेडियोको भूमिका', 'आदिवासी जनजाति, दलित, मधेसी तथा सीमान्तकृत वर्गका लागि रेडियो' विषयमा छुट्टाछुट्टै अन्तरसंवाद गरिने कोषाध्यक्ष पौडेलले बताउनुभयो ।
भोलि भने अकोराबको १६ औँ साधारणसभा हुने छ । अकोराबको २२औँ स्थापना दिवसको अवसर पारेर साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
सामुदायिक रेडियोहरूको अबको कार्यदिशाका बारेमा छलफल गरिने साधारणसभा र सम्मेलनमा भाग लिन तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधि नेपालगञ्ज पुगेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८, ०७:२४