गायिकाः आज म तिमीलाई म भित्रको ......
सिङ्गो विश्वास दिन्छु तिमीले यसलाई जतन गरी साँच्नू
गायकः मेरा सबै खुसीहरू तिम्रो....
बाटोभरि ओछ्याईदिन्छु, खुसीहरू समेटेर ओठभरि हाँस्नु
काठमाडौँ । वरिष्ठ गीतकार श्रीपुरुष ढकालको ‘मेरा सबै खुसीहरू’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली गीतसङ्गीतको क्षेत्रमा करिब चार दसकदेखि क्रियाशील गीतकार ढकालद्वारा लिखित यो संयोगान्त भावको गीत हो ।
२०५० सालमा लेखिएको गीत २५ वर्षपछि रेकर्ड गरिएको हो । १ हजारभन्दा धेरै गीत लेखीसक्नु भएका गीतकार ढकालका चारवटा गीति एल्बम बजारमा यसअघि आइसकेका छन् । उहाँ हाल लोकसेवा आयोगको सदस्यको रुपमा कार्यरत हुनुहुन्छ।
वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका अन्जु पन्त अनि गायक रवी थापा मगरको स्वरमा रहेको 'मेरा सबै खुसीहरु' बोलको गीत हिजो सार्वजनिक भएको हो । प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम, विश्वास मात्र होइन समर्पणको भाव दर्शाउन यो गीतको रचना गरिएको गीतकार ढकालले बताउनुभयो ।
‘हिजोआज गीत लेखनमा गहिरो भावभन्दा पनि क्षणिक रमाइलोपन बढ्दै गएको छ । तर गीतकार ढकालले आदर्श समाजको पकिल्पना गरी कलम चलाउनु भएको छ ।’ सङ्गीतकार श्रेष्ठले भन्नुभयो । ‘कालजयी गीतको रूपमा स्रोता र दर्शकले यो गीतलाई आत्मसात गर्ने विश्वास मैले लिएको छु ।’
यो गीतलाई श्रव्यदृश्यको रूपमा पनि तयार पारिएको छ । शिल्पा पोखरेल र सनम कठायतले अभिनय गरेको गीतमा मुकेश हुमागाईको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेकोे छ भने म्युजिक भिडियोलाई कविको रुपमा परिचित हेम प्रभासले निर्देशन गर्नु भएको हो ।
गीत सुन्न र हेर्न क्लिक गर्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६, १६:०८