नेपालगञ्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले सामुदायिक रेडियोमैत्री कानुन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सङ्कटका समयमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री बडूले उनीहरूको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २२ औँ स्थापना दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा मन्त्री बडूले वाक स्वतन्त्रताको अभियानमा देशभरि ३ सयभन्दा बढी सामुदायिक रेडियो जोडिएकोमा खुसी व्यक्त गर्नुभयो ।
‘सामुदायिक रेडियो एउटा रेडियो मात्र नभएर अभियान हो ।’ मन्त्री बडूले भन्नुभयो, ‘लोकतन्त्र स्थापनापछि यो अभियान अझ बलियो भएर अघि बढेको छ ।’ लोकतन्त्र स्थापनापछि सामुदायिक रेडियोहरूले पुनर्जीवन पाएको उहाँले टिप्पणी गर्नुभयो ।
जनताको वलिदानीबाट प्राप्त संविधान खतरामा परेपछि त्यसको रक्षाका लागि काँग्रेस सरकारमा पुगेको दावी गर्दै उहाँले संविधानको सर्वोच्चता स्थापित गर्दै कानुनी राज्य कायम गर्नका लागि आफूहरू प्रतिपक्षबाट सत्तामा जानु परेको बताउनुभयो ।
संविधानमाथि खतराको सङ्केत देखिएको भन्दै उहाँले त्यसको रक्षालाई सामुदायिक रेडियोहरूले आफ्नो लक्ष्य बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
संविधान रक्षा र सामुदायिक रेडियोको आगामी उद्देश्यबारे अकोरावसँग बसेर छलफल गरी माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री बडूले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८, ११:१७