नेपालगञ्ज । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले सामुदायिक रेडियोहरूको हक र न्यायका लागि काम गर्दै आएका तथा विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको छ ।
अकोराबको २२ औँ स्थापना दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा अकोराबका पूर्व अध्यक्षद्वय मीनबहादुर शाही, मोहन चापागाईँ र सामुदायिक रेडियो अभियन्ता दधिराम सुवेदीलाई सम्मान गरिएको हो ।
स्थानीय कला र संस्कृती संरक्षणमा योगदान पुर्याएको भन्दै नेपालगञ्जका कलाकार श्यामानन्द सिंह ठकुरी, कटुवाल प्रथामार्फत समुदायमा सञ्चारकर्मीको भूमिका निर्वाह गरिरहनुभएका नेपालगञ्जका पतिराम थारुलाई पनि सम्मान गरिएको छ ।
सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा कार्यरत राजन रुचाल, स्नेहा कणर्, अविनाश आचार्य र रेडियो बाजुरामा कार्यरत नन्दा थापा, रेडियो शालिग्राम पर्वतमा कार्यरत रोशन तिवारी र विजय एफम नवलपुरमा कार्यरत पवित्रा पराजुलीलाई सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कृत र सम्मानित सबैलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुन्ठ अर्यालले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८, १३:४७