काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा भएका ९ सम्झौतामध्ये घाँस निर्यात गर्ने विषय पनि एक परेको छ ।
नेपालबाट हेलेज घाँस निर्यातका लागि सुरक्षा र स्वास्थ्य अवस्थाबारे प्रोटोकलमा हस्ताक्षर भएको हो ।
भ्रमणका क्रममा हिजो कृषि मन्त्रालयका सचिव नीरु दाहाल पाण्डे र नेपालका लागि चिनिया राजदूत हाउ यान्छीबीच हस्ताक्षर भएको हो ।
प्रोटोकलमा हस्ताक्षर भएसँगै अब प्रशोधित घाँस हेलेज चीनमा निर्यात गर्न बाटो खुल्नेछ ।
विशेषगरी चाइनाको तिब्बतमा घाँस उत्पादन कम हुनेभएपछि नेपालबाट घाँस आयात गर्ने चीन सरकारले प्रस्ताव गरेको थियो ।
तर तीन वर्षअघि चिनियाँ व्यवसायी समेतको लगानीमा चीनमा घाँस निर्यात गर्न चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ मा उद्योग स्थापना गरिएको छ ।
२० विघाभन्दा बढी क्षेत्रमा उत्पादन गरिएको घाँस निर्यात गर्ने सम्झौता नहुँदा हालसम्म भियतनाम हुँदै चाइना पुग्ने गरेको थियो ।
घाँस आयात गर्ने चाइनाको प्रस्ताव आएपछि सरकारले यसअघि नै घाँस निर्यात गर्न नीति जारी गरिसकेको छ भने प्रशोधित घाँस चीन निर्यात गर्न बनाइएको मापदण्ड पनि स्वीकृत गरिसकेको छ ।
सम्झौतापछि सो उद्योगमा उत्पादित घाँस सीधै चीन पठाउन सकिने छ । नेपालका अन्य घाँस उत्पादन गर्ने व्यवसायीले पनि निर्यात गर्न पाउनेछन् ।
सम्झौतापछि नेपालको प्रशोधित घाँस हेलेज चीन निर्यात गर्न बाटो खुला भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले बताउनुभयो ।
तत्कालै निर्यात गर्ने अवस्था छैन
घाँस उत्पादक किसानहरू भने नेपालमै घाँसको माग पूरा गर्न नसकेको बताउँछन् ।
गतवर्ष एक करोड रुपैयाँको साइलेज विक्री गर्न सफल अन्नपूर्ण दूग्ध उत्पादक संस्थाका अध्यक्ष ऋषि चापागाईँले नेपालका विभिन्न क्षेत्रमा घाँसको माग पर्याप्त आउने गरेको बताउनुभयो ।
“गत वर्ष पहिलो पटक हामीले घाँस उत्पादन गर्यौँ । उत्पादन भएको केही महिनामै प्रशोधित घाँस बिक्री भए ।’ चापागाईले भन्नुभयो ।
चाइनामा घाँस निर्यात गर्ने सम्झौता भए पनि तत्कालै प्रशोधित घाँस चाइना पठाउने अवस्था नरहेको चापागाँइको भनाइ छ ।
मापदण्डमा घाँसको गुणस्तर, अवस्थाअनुसारको खरिद गर्ने शर्त, पशु फार्मभन्दा टाढा उत्पादन भएको स्वस्थ हुनुपर्ने लगायत उल्लेख छ । मकैसहित अकोशे घाँसहरूलाई हेलेज प्रविधिमार्फत् बाह्रैमास प्रयोग गर्न योग्य बनाइन्छ । यसैलाई चीनले नेपालबाट लैजान खोजेको हो ।
घाँस निर्यात गर्नेगरी खेती गर्न जग्गा र लगानी पनि अभाव भएको घाँस उत्पादक किसानहरू बताउँछन् । एक जना किसान हरिप्रसाद अधिकारी घाँसको माग थेगिनसक्नु भए पनि खेती गर्ने जग्गा र लगानीको अभाव रहेको बताउनुहुन्छ ।
‘हामीले घाँस खेती गर्ने जग्गा भाडामा लिन्छाँै, मलजल सबै ठिक्क पार्दासम्म जग्गाधनिले जग्गा बेच्ने निधो गरिसक्छन्, यस्तोमा हाम्रो मेहनत खेर जान्छ। ’ अधिकारीले भन्नुभयो ।
बैँकमा ऋण लिन जाँदा जग्गा भाडामा लिएको सम्झौता पत्र माग हुने गरेको छ । तर जग्गा धनीहरू सम्झौतका लागि तयार हुँदैन ।
‘सरकारले ढुक्कसँग घाँस उत्पादन गर्ने वातावरण मिलाइदिवस् । लगानी गरिदिवस् अनि नेपालको माग पूरा गर्दै विदेश निर्यात होला हाम्रो घाँस ।’ अधिकारीले थप्नुभयो ।
घाँस आयात गर्ने चाइनाको प्रस्ताव आएपछि सरकारले यसअघि नै घाँस निर्यात गर्न नीति जारी गरिसकेको छ भने प्रशोधित घाँस चीन निर्यात गर्न बनाइएको मापदण्ड पनि स्वीकृत गरिसकेको छ ।
मापदण्डमा घाँसको गुणस्तर, अवस्थाअनुसारको खरिद गर्ने शर्त, पशु फार्मभन्दा टाढा उत्पादन भएको स्वस्थ हुनुपर्ने लगायत उल्लेख छ ।
मकैसहित अकोशे घाँसहरूलाई हेलेज प्रविधिमार्फत् बाह्रैमास प्रयोग गर्न योग्य बनाइन्छ । यसैलाई चीनले नेपालबाट लैजान खोजेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८, १०:२५