ओपेन्द्र बस्नेत, रेडियो प्रकृति, दाङ
आँखा स्वास्थ्य उपचारमा दाङको तुलसीपुर उपमहागनरपालिका देशमै उत्कृष्ट भएको छ ।
नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राख्दै सम्मान गरेको हो ।
४४ औँ नेपाल नेत्रज्योति दिवसका अवसरमा तुलसीपुर उपमहानरपालिकालाई सम्मान गरिएको हो ।
नगर प्रमुख घनश्याम पाण्डेले काठमाण्डौँमा आयोजित कार्यक्रमबाट सम्मानपत्र ग्रहण गर्नुभएको हो । उहाँलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सम्मानपत्र प्रदान गर्नुभएको हो ।
उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति सङ्घ दाङको साझेदारीमा ३ सयभन्दा बढीलाई उज्यालो संसार देखाएको राप्ती आँखा अस्पताल तुलसीपुरका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो ।
देशका ७५३ वटा स्थानीय तहमध्ये अन्धोपन निवारणमा नेत्रज्योतिसङ्घ दाङसँग साझेदारीमा काम गर्ने पहिलो स्थानीय तह तुलसीपुर उपमहानगरपालिका भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८, ०८:२०