झापा । झापाको टोक्ला चिया बगानमा काम गर्ने चिया मजदुर रेणुका फुँयालको ४ जनाको परिवार छ । उहाँ चियाबगानमा काम गर्न थालेको २० बर्ष भयो । त्यही चिया बगानबाट आउने दैनिक ज्याला नै उहाँको परिवार धान्ने र बाँकी जिवन चलाउने आधार हो ।
तर ३२ दिनदेखि चियाबगान ठप्प छन । उहाँको आर्थिक उपार्जनको बाटो पनि बन्द छ । ‘काम गर्दै दैनिक चलाउने हामीहरुका लागि चियाबगान बन्द भएपछि समस्या भएको छ, ऋण लिएर किस्तामा तिर्नेहरुलाई झन समस्या छ’ फुँयालले गुनासो गर्नुभयो ।
सरकारले तोकेको ज्याला कार्यान्वयन गर्नुपर्ने माग गर्दै झापाका चिया मजुदरहरुले चैत १७ गतेदेखि उद्योगहरुमा तालाबन्दी गरेका छन् । इलाम, झापा र धनकुटाका चिया उद्योगहरू बन्द गरेर आन्दोलनमा छन् ।
आन्दोलनका कारण इलामका ४ र झापाका ३ सरकारीसहित दर्जनौं निजी उद्योग–बगानसमेत ठप्प छन् । चिया उद्योगमा काम गर्ने श्रमिकहरुका लागि श्रम ऐन २०७४ र नियमावली अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो । उद्योगीहरुले सरकारले तोकेको पारिश्रमिक दिन नमानेपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
दिनभरको ज्याला भेला गरेर साँझ–बिहानको छाक टार्ने श्रमिक ठूलो मारमा परेका छुन् । चिया बगानमा काम गर्ने विपन्न समुदायका मजदुरलाई सबैभन्दा बढी समस्या छ । चियाबगानमा दलित, सीमान्तकृत समुदायको करिब ८० प्रतिशत मजदुरले काम गरिरहेका छुन् ।
नयाँ व्यवस्था अनुसार चिया बगानमा काम गर्नेले भत्ता र तलब गरेर महिनामा १० हजार ७ सय ८१ रुपैयाँ पाउने छन् । जसमा तलब ६ हजार ४ सय ६९ रुपैयाँ, महँगी भत्ता ४ हजार ३ सय १२ रुपैयाँ हुनेछ ।
दैनिक ज्यालादारीमा काम गर्नेले महँगी भत्तासहित ३ सय ८५ रुपैयाँ पाउने छन् भने एक घण्टाको ५१ रुपैयाँ पाउनु पर्ने व्यवस्था छ । तर चिया उद्योगिहरुले श्रम ऐनमा भएको ब्यवस्था अनुसार पारिश्रमिक दिन नमानेपछि मजदुरहरुको दैनिकी कष्टकर बन्दै चिया मजदुर मिना करुवा बताउनुहुन्छ ।
महिना दिनयता काम छाडेर आन्दोलनमा उत्रिएका चिया श्रमिकले सरकारले आफ्ना मागप्रति चरम बेवास्ता गरेको गुनासो गरेका छन् । सरकारकै निर्णय कार्यान्वयनका लागि रोजीरोटी त्यागेर आन्दोलन गरे पनि सरकार गम्भीर नभएको श्रमिकको भनाइ छ ।
दिनभरको ज्याला भेला गरेर साँझ–बिहानको छाक टार्ने श्रमिक ठूलो मारमा परेका छुन् । चिया बगानमा काम गर्ने विपन्न समुदायका मजदुरलाई सबैभन्दा बढी समस्या देखिएको छ । चियाबगानमा दलित, सीमान्तकृत समुदायको करिब ८० प्रतिशत मजदुरले काम गरिरहेका छुन् ।
कानूनी व्यवस्था भएपछि पनि यति लामो समयसम्म पारिश्रमिक नपाएका कारण घर चलाउन नै अप्ठ्यारो परेको बताउनु हुन्छ झापाका अगुवा मजदुर तिलक दर्जी । ‘छाक टार्न जेनतेन सकिइला तर हप्ता हप्तामा तिर्ने किस्ताले मजदुरलाई मार पारेको छ’ उहाँले भन्नुभयो । पारिश्रमिक नपाएर मजदुरहरु अफ्ठेरोमा परिरहेका बेला चिया उत्पादक संघले भने सरकारले तोकेको ज्याला दिएर उद्योग चलाउन नसकिने बताएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६, ०६:५६